भाइटिकाको दिन सशस्त्र प्रहरीको निःशुल्क बसमा २ हजार ४८६ जनाले गरे यात्रा
काठमाडौँ,कात्तिक २६ । तिहारको भाइटिकाका दिन सशस्त्र प्रहरीले काठमाडौँ उपत्यका र भक्तपुरमा सञ्चालन गरेको निःशुल्क बस सेवाबाट दुई हजार ४८६ जना सर्वसाधारणले यात्रा गरेका छन् ।
भाइटिकाका दिन सार्वजनिक यातायातका साधन न्यून सङ्ख्यामा सञ्चालन हुने भएकाले सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।
सशस्त्र प्रहरीको बस सेवा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो । काठमाडौँको चक्रपथमा सञ्चालित बसबाट एक हजार ७६६ जना र भक्तपुरमा सञ्चालित बसबाट ७२० जनाले सेवा लिएका छन् ।
सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले निःशुल्क बस सेवामार्फत भाइटिकाका दिन सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरिएको जानकारी दिनुभयो ।

