भीमफेदी माइक्रोबस दुर्घटना : एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु, ६ घाइते



हेटौंडा,कात्तिक २६ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा आज बिहान भएको विद्युतीय माइक्रोबस दुर्घटनामा एकै परिवारका छ जनासहित १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् ।

काठमाडौँबाट छठ पर्व मनाउन सर्लाही जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका अवधेश यादवकी श्रीमती ३५ वर्षीया पुनम देवी यादव, छोरीहरू १० वर्षीया अनुकुमारी यादव, सात वर्षीया दीक्षा यादव र पाँच वर्षीया दीपिका यादव तथा उनका दुई भाइको मृत्यु भएको छ ।

दुर्घटनामा माइक्रोबस चालक सर्लाहीको कविलासी गाउँपालिका–८ का ३० वर्षीय रविशङ्कर कुमार मण्डलसहित चक्रघट्टा–४ का २६ वर्षीय विकेश यादव, ३५ वर्षीय गुड्डु यादव, उनकी श्रीमती गायत्रीदेवी यादव, रामदुलार यादव, सुबोध यादव, रोहन यादव, राकेश यादव, छोटु यादव र सुदेश यादवको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव घाइते भएका छन् ।

घाइतेमध्ये मुकेश यादव, सक्षम कुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । सुजन यादव र सुदीप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल तथा ३१ वर्षीय देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्