कर्णालीलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा



काठमाडौं,कात्तिक २७ । साबिक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटको प्लेअफमा प्रवेश गरेको छ।

बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले प्लेअफमा स्थान सुरक्षित गरेको हो।

कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीका लागि डार्सी सर्टले सर्वाधिक ४६ रन बनाए। दिलिप नाथले अविजित २८ र निरोशन डिकवेलाले १६ रनको योगदान दिए।

बलिङतर्फ कर्णालीका मार्क वाटले ४ विकेट लिए भने हुसेन तलात र पवन सर्राफले एक–एक विकेट लिए।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्स १९ दशमलव २ ओभरमा १०५ रनमा समेटिएको थियो। कर्णालीका सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए।

लुम्बिनीका कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेक गौतमले दुई–दुई विकेट लिए भने शेर मल्लले एक विकेट लिए।

कर्णालीमाथिको जितसँगै लुम्बिनी ६ खेलबाट ९ अङ्क जोड्दै अङ्कतालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लुम्बिनीले चार खेलमा जित, एकमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको छ।

यता, कर्णालीको प्लेअफ यात्रा कठिन बनेको छ। छ खेल खेलेको कर्णालीले दुई खेलमा जित र चारमा हार बेहोर्दै चार अङ्क मात्र जोडेको छ।

प्रतिक्रिया दिनुहोस्