काठमाडौं–हेटौंडा रुटमा राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने
काठमाडौं,कात्तिक २८ । काठमाडौंको बल्खु–दक्षिणकाली हुँदै हेटौंडा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नयाँ समय तालिका निर्धारण गरेको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडक दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारी साधनलाई बेलुका ८ बजेसम्म प्रहरी चेकपोस्ट फर्पिङ पुगिसक्नुपर्ने व्यवस्था गरेको हो।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार जारी गरेको सूचनाअनुसार उक्त रुटमा बिहान ५ बजेपछि मात्र बल्खुबाट यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन गर्न पाइनेछ।
काठमाडौं–बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने सडक खण्डमा पछिल्लो समय सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट हुने मानवीय क्षति भयावह बन्दै गएको प्रशासनले जनाएको छ।
साँघुरा सडक, भिरालो तथा घुम्ती सडक, सवारी साधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति, रातिको समयमा अँध्यारो सडकमा यात्रा, अत्यधिक कामको दबाब तथा अनिद्राका कारण दुर्घटना दोहोरिने गरेको सूचनामा उल्लेख छ। मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउँदा यात्रुको ज्यान जोखिममा परेको गुनासोसमेत प्राप्त भएको प्रशासनले जनाएको छ।
प्रशासनले यात्रुवाहक सवारी साधन सञ्चालन गर्नुअघि तिनको अवस्था पूर्ण रूपमा जाँच गर्नुपर्ने व्यवस्था गरेको छ। साथै काठमाडौं जिल्लाभित्र उक्त रुटमा पर्ने प्रहरी इकाइ तथा ट्राफिक प्रहरीले प्रत्येक यात्रुवाहक भाडाका सवारी साधनको अनिवार्य र कडाइका साथ जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।
जिल्ला सुरक्षा समिति काठमाडौंले निर्धारण गरेको उक्त समय तालिका यात्रु तथा चालकको सुरक्षाका लागि लागू गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
सूचनामा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सबै सम्बन्धित पक्षलाई निर्धारित समय तालिका पालना गर्न तथा गराउन आग्रह गरेका छन्।

