बाढीपहिरोले अवरुद्ध खानेपानी आयोजना सञ्चालन गर्न शिवपुरी–५ मा पाइप वितरण



नुवाकोट,कात्तिक २८ । बाढीपहिरोका कारण अवरुद्ध खानेपानी आयोजना पुनः सञ्चालन गर्ने उद्देश्यले नुवाकोटको शिवपुरी गाउँपालिका–५ मा खानेपानीका पाइप वितरण गरिएको छ।

गत भदौ ५ गते अविरल वर्षासँगै खहरे खोलामा आएको बाढी तथा पहिरोले खानेपानीका पाइप बगाएपछि अवरुद्ध भएका विभिन्न खानेपानी आयोजना सञ्चालन गर्न शुक्रबार पाइप वितरण गरिएको हो। शिवपुरी गाउँपालिका र वडा नम्बर ५ कार्यालयको करिब ६ लाख रुपैयाँको आर्थिक साझेदारीमा पाइप वितरण गरिएको जनाइएको छ।

बाढीपहिरोका कारण लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयलाई राहत पुर्‍याउने तथा क्षतिग्रस्त आयोजना मर्मत गरी पुनः सञ्चालन गर्ने उद्देश्यले पाइप उपलब्ध गराइएको हो।

शिवपुरी गाउँपालिका–५ महाकालीअन्तर्गत खनियाखर्क, कल्लेरी, सागिने, कार्की डाँडा, बेशीथोकलगायत विभिन्न स्थानका खानेपानी आयोजना मर्मत तथा सञ्चालनका लागि २०, २५, ३२ र ४० एमएमका पाइप वितरण गरिएको छ।

पाइप वितरण कार्यक्रममा वडा अध्यक्ष रेशमबहादुर मोक्तान, वडा सदस्य प्रेमबहादुर तामाङ र मालती पोखरेल, शिवपुरी–५ का सबइन्जिनियर केदार प्याकुरेललगायत खानेपानी उपभोक्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

पाइप प्राप्त भएसँगै क्षतिग्रस्त खानेपानी आयोजना मर्मत गरी सञ्चालनमा आउने र करिब दुई सय परिवारको स्वच्छ खानेपानीमा पहुँच पुनः स्थापित हुने विश्वास गरिएको छ। खानेपानीको समस्या समाधान हुने अपेक्षासहित स्थानीयवासी हर्षित भएका छन्।

हिउँद सुरु भएसँगै नजिकका बर्खे कुवा सुक्न थालेपछि स्थानीयले थप खानेपानी अभाव झेल्दै आएका थिए। पाइप वितरणले स्थानीयको खानेपानी समस्या समाधानमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्