आइतवारदेखि तीन प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं,कात्तिक २७ । पश्चिमी वायुको प्रभाव बढ्दै जाँदा पर्सि आइतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्न सक्ने सम्भावना छ । यसले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा क्षति पुर्याउन सक्ने भएकाले किसानलाई सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।
मौसमविद् विभूति पोखरेलका अनुसार आज देशका अधिकांश स्थानमा मौसम सफा रहेको छ भने भोलि पनि मौसममा ठूलो परिवर्तन हुने सम्भावना छैन । आज र भोलि एक–दुई स्थानमा हल्का वर्षा भए पनि पर्सिदेखि पश्चिमी वायुको प्रभावका कारण मौसम बदलिने अनुमान गरिएको छ ।
आइतवार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा हुने सम्भावना छ । वर्षाको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुन सक्ने मौसमविद् पोखरेलले बताउनुभयो । त्यस्तै, बागमती र कोशी प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाको अनुमान छ ।
ठूलो वर्षाको सम्भावना नरहे पनि मध्यमसम्मको वर्षा हुन सक्ने तथा केही स्थानमा असिना, मेघगर्जन र चट्याङको जोखिम रहेको मौसमविद्ले बताएका छन् । त्यसैले काट्न बाँकी रहेको धानबाली तत्काल काटेर सुरक्षित गर्न र काटिसकेको धान तथा पराललाई सुरक्षित स्थानमा राख्न किसानलाई सुझाव दिइएको छ ।
मौसमविद् पोखरेलका अनुसार हिउँदमा हुने वर्षा र हिमपातले हिउँदेबालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिन्छ ।
पश्चिमी वायुबाट विकसित हुने न्यून चापीय प्रणाली छिटो एक स्थानबाट अर्को स्थानमा सर्ने प्रकृतिको हुने भएकाले केही समय वर्षा भएर रोकिने गर्छ । असिना पनि सीमित क्षेत्रमा मात्र पर्ने सम्भावना रहेको मौसमविद् पोखरेलले बताउनुभयो ।
उहाँले मौसमसम्बन्धी पूर्वानुमान तथा परामर्शका लागि नियमित अद्यावधिक रहनसमेत सर्वसाधारणलाई आग्रह गर्नुभएको छ ।

