मिथिलामा छठ पर्वको उल्लास, आज बर्तालु खरना विधिमा
महोत्तरी,कात्तिक २८ । मधेसको प्राचीन मिथिला क्षेत्रमा अहिले छठ पर्वको उल्लास छ । चार दिनसम्म मनाइने लोकआस्थाको महापर्व छठको दोस्रो दिन आज शनिबार बर्तालु ‘खरना’ विधि सम्पन्न गर्ने तयारीमा छन् ।
पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन शुक्रबार बर्तालुले ‘नहाय–खाय’ विधि पूरा गर्दै व्रतको सङ्कल्प गरेका थिए । दोस्रो दिन अर्थात् पञ्चमी तिथिमा बिहान पवित्र स्नान गरी दिनभर निराहार उपवास बसेर साँझ चन्द्रदर्शनपछि खरना विधि सम्पन्न गरिन्छ ।
खरना विधिमा सख्खर, दूध र स्थानीय जातको धानको चामलबाट तयार पारिएको खीर माटोको नयाँ चुलो र माटाकै भाँडामा पकाइन्छ । उक्त खीर केराको पातमा राखेर कुलदेवता तथा छठी मातालाई अर्पण गरेपछि बर्तालु र परिवारका अन्य सदस्यले प्रसादका रूपमा ग्रहण गर्ने मैथिली परम्परा छ ।
छठ पर्वलाई मिथिलामा श्रद्धा, निष्ठा, समर्पण र आत्मशुद्धिको प्रतीकका रूपमा लिइन्छ । पर्वको तेस्रो दिन षष्ठी तिथिमा बर्तालुले निराहार व्रत बसेर साँझ जलाशय किनारमा बनाइएका आकर्षक घाटमा पुग्नेछन् । कम्मरसम्म पानीमा डुबेर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझुका अरख’ वा ‘सझियाघाट’ भनिन्छ ।
पर्वको अन्तिम दिन सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई दोस्रो अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ । अर्घ्यका क्रममा जटासहितको नरिवल, ठकुवा, भुसुवा, केरासहितका फलफूल तथा विभिन्न मिष्टान्न परिकार सूर्यदेवलाई अर्पण गर्ने चलन छ ।
छठ पर्वका लागि तयार पारिने ठकुवा, भुसुवालगायतका प्रसाद ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाट बनाइन्छ । पर्वमा तयार पारिएका प्रसाद इष्टमित्र तथा आफन्तलाई घरमै बोलाएर खुवाउने र नातेदारकहाँ पुर्याउने परम्परा पनि रहेको छ । अर्घ्य दिनका लागि पवित्र जलाशयका किनारमा आकर्षक घाट निर्माण गरिन्छ ।
केही वर्षअघिसम्म मधेसी हिन्दू समुदायमा सीमित रहेको छठ पर्व पछिल्लो समय पहाडी हिन्दू समुदायले समेत उत्साहपूर्वक मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले पनि बर्तालुलाई अर्घ्यका बेला सूर्यदेवसमक्ष आफ्नो भाकल देखाउन दिने परम्परा रहेको छ । यसले छठ पर्वलाई धार्मिक तथा सांस्कृतिक सद्भावको साझा पर्वका रूपमा स्थापित गरेको छ ।
सबै धर्म, संस्कृति र जातजातिका समुदाय सहभागी हुने भएकाले छठ पर्व मिथिलाको लोकसंस्कृतिको अभिन्न अङ्ग बनेको भङ्गाहा–५ सीतापुरस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोहरप्रसाद यादव बताउनुहुन्छ । उहाँका अनुसार सबैको साझा बन्दै गएको छठ पर्वलाई लोकआस्थाको महापर्वका रूपमा लिइन्छ ।

