बाढी प्रभावित उपभोक्ताको विद्युत् बिल रोक्का, मिटर जडान निःशुल्क



नुवाकोट,कात्तिक ३० । नेपाल विद्युत् प्राधिकरण नुवाकोट वितरण केन्द्रले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित उपभोक्ताको विद्युत् महसुल बिल रोक्का गर्ने तथा क्षतिग्रस्त मिटरको नयाँ जडान निःशुल्क गर्ने व्यवस्था गरेको छ ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण नुवाकोट वितरण केन्द्रअन्तर्गत करिब १ हजार ५०० घरधुरी प्रत्यक्ष प्रभावित भएका थिए । बाढी प्रभावित ग्राहकको हकमा नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको भदौ २४ गतेको निर्णयअनुसार भदौ महिनादेखिको विद्युत् बिल रोक्का गरिएको वितरण केन्द्रले जनाएको छ ।

वितरण केन्द्रका अनुसार भदौ १० देखि असोज २ गतेसम्म बाटो तथा अन्य समस्यालाई मध्यनजर गर्दै बाढी प्रभावितसहित सबै प्रकारका ग्राहकलाई विद्युत् महसुल भुक्तानीमा जरिवाना नलाग्ने व्यवस्था गरिएको थियो । सो अवधिमा ग्राहकले बिलमा उल्लेख भएको रकम मात्र भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको थियो ।

बाढीबाट प्रभावित उपभोक्ताको विद्युत् बिल रोक्का गर्ने, बाढीमा परेका तथा क्षति पुगेका मिटरको लगत खारेज गर्ने र नयाँ मिटर जडान निःशुल्क गर्ने व्यवस्था गरिएको वितरण केन्द्रले जनाएको छ ।

पछिल्लो समय केही उपभोक्ताले विद्युत् महसुल बिलमा जरिवाना लागेको भन्दै गुनासो गरेको वितरण केन्द्रले जनाएको छ । बाढी प्रभावित उपभोक्ताका हकमा तोकिएको सहुलियत तथा सञ्चालक समितिको निर्णयअनुसार बिलमा जरिवाना लागेको वा अन्य समस्या देखिएमा आवश्यक छानबिन तथा समाधानका लागि सम्बन्धित ग्राहकलाई विद्युत् बिलसहित कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

उपभोक्ताका गुनासो तथा समस्यालाई प्राथमिकताका साथ सम्बोधन गरिने वितरण केन्द्रले जनाएको छ । विद्युत् महसुल बिलसम्बन्धी कुनै गुनासो भएमा ०१०–५६०१८३ मा सम्पर्क गर्न पनि वितरण केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्