बाढीको पीडाबीच नुवाकोटमा सामूहिक छठ पर्व, पहाडी र तराई समुदायबीच सद्भावको उदाहरण



नुवाकोट, कात्तिक ३० । तीन महिनाअघि आएको अकल्पनीय बाढीको पीडाबीच नुवाकोटमा सामूहिक रूपमा छठ पर्व मनाइएको छ । जिल्लामा विभिन्न पेसा, व्यवसाय तथा अध्ययनका सिलसिलामा बसोबास गर्दै आएका तराई मूलका नागरिकले आइतबार विदुर नगरपालिका–२ स्थित पञ्चायन मन्दिर परिसरमा पोखरी निर्माण गरी छठ पर्व मनाएका हुन् ।

बाढीले त्रिशूली नदी किनारमा रहेको छठ पूजा स्थल प्रभावित बनाएपछि यस वर्ष मन्दिर परिसरमा पोखरी तयार पारेर सामूहिक पूजा गरिएको हो । छठ पर्वमा तराई समुदायका नागरिकसँगै पहाडी समुदायका सर्वसाधारणले समेत सहभागिता जनाउँदै सहयोग गरेका थिए । पहाडी र तराई समुदायबीचको धार्मिक सद्भाव र सहिष्णुताको उदाहरणका रूपमा यस वर्षको छठ पर्व देखिएको छ ।

तराईका विभिन्न स्थानमा मूल घर भई नुवाकोटको बट्टार, विदुर, ढुंगे, त्रिशूली र कोलोनी क्षेत्रमा पेसा, व्यवसाय तथा अध्ययनका लागि बसोबास गर्दै आएका नागरिकले सामूहिक रूपमा छठ मनाएका हुन् । सांगीतिक वातावरणमा छठी माताको पूजा आराधना गर्दै दुई सयभन्दा बढी व्रतालु तथा श्रद्धालु पञ्चायन मन्दिर परिसरमा भेला भएका थिए ।

छठ पूजामा सहभागी लालबाबु गुप्ताले बाढीको पीडाबीच पनि पहाडी समुदायले छठ पर्व मनाउन सहयोग गरेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय समुदायको साथ र सहयोगले पहाडमै छठ मनाउँदा पनि जन्मथलो तथा आफ्नै घरमा पर्व मनाएको अनुभूति भएको बताए ।

नुवाकोटमा करिब डेढ दशकदेखि विभिन्न नदी किनारमा तराई समुदायका नागरिकले सामूहिक रूपमा छठ पर्व मनाउँदै आएका छन् । यसअघि त्रिशूली नदी किनारमा आयोजना हुँदै आएको पूजा स्थल यस वर्ष बाढीबाट प्रभावित भएपछि वैकल्पिक रूपमा पञ्चायन मन्दिर परिसरमा व्यवस्था गरिएको हो ।

११ वर्षदेखि नुवाकोटमा बस्दै आएकी छठ पूजाकी अगुवा व्रतालु शिला ठाकुरले श्रद्धा र निष्ठापूर्वक व्रत बसेर अस्ताउँदो तथा उदाउँदो सूर्यको पूजा आराधना गरिएको बताइन् । उनका अनुसार पहाडमा छठ मनाउँदा स्थानीय समुदायको सहयोगले धार्मिक तथा सांस्कृतिक आत्मीयता थप बलियो बनेको छ ।

छठ पूजामा सहभागी गणेश ठाकुरका अनुसार नेपालको तराई क्षेत्रमा विशेष रूपमा मनाइने छठ पर्व अहिले राष्ट्रिय स्वरूप ग्रहण गरिसकेको छ । टाढा रहेका घर जान नसकेका नागरिकले नुवाकोटमै सामूहिक रूपमा पर्व मनाउँदै आएका छन् । अर्का सहभागी वीरेन्द्र साहले छठ पर्वमा व्रतालुहरूले पञ्चमीका दिनदेखि व्रत सुरु गरी पवित्र जलाशयमा स्नान गर्ने, बेलुकी दूध, चामल र सख्खरबाट खीर तयार पारेर प्रसादका रूपमा ग्रहण गर्ने परम्परा रहेको बताए ।

छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै पूजा आराधना गरिएको थियो । व्रतालुहरूले बाँसको सुपली तथा माटोका भाँडामा उखु, केरा, कागती, अदुवा, स्याउ, नरिवल, चामल, मूला लगायतका फलफूल तथा प्रसाद राखेर सूर्य भगवान् र छठी माताको पूजा गरेका थिए । रातभर जाग्राम बसेर सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि पर्व विधिवत् रूपमा सम्पन्न हुनेछ ।

विदुर नगरपालिका–१ ढुंगे बजारमा बसोबास गर्दै आएका बाढीपीडित कामाख्याप्रसाद कलवारले बाढीको पीडा बिर्सँदै सामूहिक रूपमा छठ मनाउन पाउँदा खुसी लागेको बताए । उनले स्थानीय समुदायको सहयोगले पर्वलाई थप उल्लासपूर्ण बनाएको उल्लेख गरे ।

छठ पर्वमा सहभागी अगुवा ब्राह्मण ठाकुरप्रसाद अधिकारीले तराई समुदायका नागरिकलाई पूजा आराधनामा सहयोग गर्न पाउँदा आफूलाई हर्ष लागेको बताए । उनले पहाडी समुदायका नागरिकले छठ पूजामा साथ दिनु धार्मिक सहिष्णुताको उत्कृष्ट उदाहरण भएको बताए ।

विदुर नगरपालिका–२ का वडाध्यक्ष दीपक कायस्थले नुवाकोटमा सामूहिक रूपमा छठ पर्व मनाउन सुरु हुनु धार्मिक सहिष्णुताको नमुना भएको बताए । उनका अनुसार पञ्चायन मन्दिर परिसरमा रंगीचंगी रूपमा सजाइएको पूजा स्थलमा छठ पर्व हेर्न सर्वसाधारणको भीड लागेको थियो ।

विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले बाढीको कहरबीच पनि पीडा बिर्सेर सद्भावपूर्ण भावनाका साथ छठ पर्व मनाइनु उदाहरणीय रहेको बताए । यस वर्ष बाढीले विदुर, बेलकोटगढी, किस्पाङ र तारकेश्वर क्षेत्र प्रभावित पारेको उल्लेख गर्दै उनले यस्ता पर्वले समुदायबीचको सम्बन्ध अझ मजबुत बनाउने विश्वास व्यक्त गरे ।

छठ पर्वको अवसरमा नुवाकोट प्रहरीले पूजा स्थलमा विशेष सुरक्षा व्यवस्था मिलाएको थियो । चार दिनसम्म मनाइने छठ पर्वमा सूर्यको उपासना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्ने धार्मिक परम्परा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्