कांग्रेस नुवाकोट–१ क्षेत्रीय सभापतिमा सन्तबहादुर घले सर्वसम्मत



नुवाकोट,कात्तिक ३० । नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरको नुवाकोटमा विभिन्न तहका अधिवेशन धमाधम भइरहेका छन् । यसैक्रममा चौघडामा सम्पन्न नुवाकोट क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनले सूर्यगढी गाउँपालिकाका सन्तबहादुर घलेलाई सभापतिमा सर्वसम्मत चयन गरेको छ ।

दुई कार्यकाल सूर्यगढी गाउँपालिकाको अध्यक्ष भइसकेका घले पार्टीको क्षेत्रीय समितिमा सक्रिय रहँदै आएका छन् । पार्टीभित्र स्पष्ट विचार, संगठनप्रतिको प्रतिबद्धता र राजनीतिक सक्रियताका कारण उनी क्षेत्रीय प्रतिनिधिहरूको निर्विरोध रोजाइमा परेको बताइएको छ ।

नियमित महाधिवेशनको पक्षमा खुलेर उभिँदै आएका घले पछिल्लो समय पार्टीभित्र देखिएको राजनीतिक विवाद र दबाबका बीच पनि आफ्नो अडानमा दृढ रहँदै आएका छन् । कांग्रेस संस्थापन पक्षले नियमित महाधिवेशन अभियानमा लाग्ने जनप्रतिनिधिलाई कारबाही गर्ने चेतावनी दिइरहेका बेला घले भने स्पष्ट राजनीतिक विचारसहित नियमित महाधिवेशन पक्षधरको अभियानमा सक्रिय छन् ।

घलेको नेतृत्वले नुवाकोटमा नियमित महाधिवेशन पक्षधरको संगठन थप बलियो बनाउनुका साथै पार्टीलाई नयाँ ऊर्जा प्रदान गर्ने जिल्ला संयोजक श्रीराम श्रेष्ठले बताएका छन् ।

यसैगरी, नुवाकोट–१ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’ को सभापतिमा गोविन्द गिरी सर्वसम्मत चयन भएका छन् ।

महाधिवेशन प्रतिनिधिका लागि ३५ जनाको कोटा निर्धारण गरिएको भए पनि ६० जनाभन्दा बढी आकांक्षी देखिएपछि प्रतिनिधि छनोट प्रक्रिया चुनौतीपूर्ण बनेको छ । आकांक्षीको संख्या बढी हुनु र सबैलाई समेटेर लैजानुपर्ने अवस्थाका कारण सहमति जुटाउन कठिन भइरहेको कांग्रेस नेताहरूले बताएका छन् ।

नुवाकोट–१ नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेता तथा पूर्वमन्त्री डा. प्रकाशशरण महतको निर्वाचन क्षेत्रसमेत हो । यस कारण क्षेत्रीय नेतृत्व चयन र महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियालाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्