राप्रपा नुवाकोटका नेता मेजर शेरबहादुर खत्रीको ८९ वर्षको उमेरमा निधन
नुवाकोट,कात्तिक ३० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पुराना नेता तथा नुवाकोटका राष्ट्रवादी व्यक्तित्व मेजर शेरबहादुर खत्री (मेजर साब) को ८९ वर्षको उमेरमा निधन भएको छ। उहाँको सोमबार बिहान आफ्नै निजी निवासमा निधन भएको राप्रपा नेता जनकराज पाठकले जानकारी दिनुभएको हो।
खत्री राष्ट्रिय प्रजातान्त्रिक भूतपूर्व सैनिक संगठनका अध्यक्ष तथा राप्रपा नुवाकोट क्षेत्र नं. १ का क्षेत्रीय अध्यक्षसमेत रहनुभएको थियो। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा गठित अनुगमन समितिको नुवाकोट जिल्ला संयोजकको जिम्मेवारीसमेत उहाँले निर्वाह गर्नुभएको थियो।
राष्ट्र, राष्ट्रियता र राजसंस्थाप्रति आस्था राख्ने खत्री लामो समयदेखि राष्ट्रवादी आन्दोलन तथा पार्टी संगठनमा सक्रिय हुनुहुन्थ्यो। नुवाकोटको राष्ट्रवादी राजनीतिक वृत्तमा परिचित उहाँले पार्टी संगठन विस्तार तथा राजनीतिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो।
राप्रपा केन्द्रीय सदस्य पाठकले खत्रीको निधनले पार्टीसँगै राष्ट्रवादी आन्दोलनले एक अनुभवी र समर्पित व्यक्तित्व गुमाएको बताउनुभएको छ। उहाँको निधनलाई पार्टी र समग्र राष्ट्रिय राजनीतिका लागि अपूरणीय क्षति भएको पाठकले उल्लेख गर्नुभएको छ।
खत्रीको निधनप्रति राप्रपाका नेता तथा कार्यकर्ताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

