नेपाल–फ्रान्स संसदीय सम्बन्ध सुदृढ गर्न सभामुख अर्याल र फ्रान्सेली प्रतिनिधिबीच छलफल



काठमाडौं,मंसिर २ । सभामुख डोलप्रसाद (डीपी) अर्याल र फ्रान्सेली संसद्को प्रतिनिधिसभाअन्तर्गत फ्रान्स–नेपाल संसदीय समूहकी अध्यक्ष बियाट्रिस पिरोनबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा सभामुख अर्यालले नेपाल र फ्रान्सबीच सन् १९४९ अप्रिल २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै द्विपक्षीय सम्बन्ध सुमधुर रहँदै आएको उल्लेख गर्नुभयो। उहाँले फ्रान्ससँगको सम्बन्धलाई नेपालले उच्च महत्त्व दिएको बताउँदै फ्रान्सेली लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो।

नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उहाँले सूचना प्रविधि, नवीन विधायिकी अभ्यास र संसदीय अनुभव आदानप्रदानमा फ्रान्ससँग सहकार्य गर्न सकिने बताउनुभयो। साथै, दुई देशबीचको संसदीय सम्बन्ध थप सुदृढ बनाउन आठ सदस्यीय नेपाल–फ्रान्स संसदीय मैत्री समूह गठन गरिएको जानकारी दिनुभयो।

यसैगरी, बाढीपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोले व्यक्त गर्नुभएको समवेदना, फ्रान्सेली नागरिकको खोजी तथा उद्धारमा उपलब्ध गराइएको कन्सुलर सहयोग र युरोपेली सङ्घमार्फत प्राप्त पाँच टन मानवीय सहायताप्रति सभामुख अर्यालले आभार व्यक्त गर्नुभयो।

भेटमा अध्यक्ष पिरोनले नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने, संसदीय सहकार्य विस्तार गर्ने तथा आपसी हितका क्षेत्रमा सहयोगका सम्भावना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्