आगलागी पीडित तिवारी परिवारलाई पूर्वअर्थमन्त्री लोहनीको आर्थिक सहयोग
नुवाकोट,मंसिर २। सुख्खायाम सुरु भएसँगै नुवाकोटमा आगलागीका घटना हुन थालेका छन् । यसैक्रममा बेलकोटगढी नगरपालिका–१० का रामकुमार तिवारीको घरमा राति आगलागी हुँदा लाखौँ रुपैयाँ बराबरको भौतिक क्षति भएको छ ।
आगलागीबाट पीडित तिवारी परिवारलाई राहतस्वरूप पूर्वअर्थमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । नुवाकोटको थानसिङ निवासी लोहनीले पीडित परिवारलाई नगद सहयोग उपलब्ध गराएका हुन् ।
विपद्को समयमा प्राप्त सहयोगले पीडित परिवारलाई राहतसँगै हौसला मिलेको भन्दै बेलकोटगढी नगरपालिका–१० स्थित राप्रपा वडा समितिले डा. लोहनीप्रति आभार व्यक्त गरेको छ ।
यसैबीच, डा. लोहनीले आम नागरिकलाई आगलागीलगायतका विपद्बाट जोगिन सचेत र सतर्क भएर जीवनयापन गर्न आग्रह गरेका छन् ।

