बाढी प्रभावित बस्तीमा रोग निगरानी र स्वास्थ्य सचेतना कार्यक्रम



नुवाकोट,मंसिर २ । ल्हेन्देखोलाबाट रसुवागढी हुँदै भोटेकोशी र त्रिशूली नदीमा मिसिएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका नागरिकलाई लक्षित गरी रोग निगरानी तथा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । विपद् प्रभावितलाई उनीहरू अस्थायी रूपमा आश्रय लिएर बसेको स्थानमै पुगेर स्वास्थ्य शिक्षा र उपचार सेवा प्रदान गर्न थालिएको हो ।

‘विपद्को समय सकिएपछि पनि स्वास्थ्य विपद् सकिएको हुँदैन’ भन्ने सन्देशसहित जनस्वास्थ्य कार्यालय नुवाकोटको संयोजनमा प्रत्येक साता प्रभावित समुदायमा पुगेर रोग निगरानी तथा स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन भइरहेको कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयकी प्रमुख डा. अञ्जु कार्कीका अनुसार त्रिशूली अस्पताल, विभिन्न संघसंस्थाका स्वास्थ्यकर्मी तथा विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा स्वास्थ्यकर्मीहरू प्रभावितका अस्थायी आश्रयस्थलमा पुगेर सेवा प्रदान गरिरहेका छन् ।

यसक्रममा विदुर नगरपालिका–५ का कोदोबारी, वाणाचौतारो, लामिबगैँचा र ठूलोगाउँमा रहेका अस्थायी आश्रयस्थल तथा पालमा बसोबास गरिरहेका समुदायलाई लक्षित गरी श्वासप्रश्वाससम्बन्धी रोग र सरसफाइबारे स्वास्थ्य सचेतना कार्यक्रम तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । कार्यक्रमबाट बाढी प्रभावित नागरिक लाभान्वित भएका छन् ।

यसैबीच, त्रिशूली अस्पतालमा १२ वर्षीय बालकको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ । एक्युट एपेन्डिसाइटिसका कारण गम्भीर अवस्थामा अस्पताल पुगेका बालकको समयमै रोग पहिचान गरी शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार बालकको एपेन्डिक्स लगभग पूर्ण रूपमा फुटिसकेको र पेटभित्र पिप जम्नुका साथै संक्रमण फैलिएको अवस्था थियो । यस्तो जटिल अवस्थामा पनि अस्पताल प्रमुख तथा शल्यचिकित्सक डा. राजेन्द्र लामाको नेतृत्वमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो ।

शल्यक्रियामा एनेस्थेसिया सेवातर्फ आशिष दुवाडीसहित दक्ष स्वास्थ्यकर्मीहरूको टोली सहभागी थियो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको समन्वय र प्रयासबाट बालकको सफल उपचार सम्भव भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्