मलेसियाको मानव विकास सूचकाङ्क ०.८२४ पुग्यो, शिक्षा क्षेत्रमा भने गिरावट
क्वालालम्पुर,मंसिर २ । मलेसियाको मानव विकास सूचकाङ्क (एचडीआई) सन् २०२५ मा ०.८२४ कायम भएको छ। आम्दानी र औसत आयुमा भएको सुधारका कारण देशको मानव विकास सूचकाङ्क उच्च स्तरमा कायम रहेको मलेसियाको तथ्याङ्क विभागले जनाएको छ।
विभागका अनुसार सन् २०२५ मा कुल राष्ट्रिय आय (जीएनआई) सूचकाङ्क ०.८९७ पुगेको छ। यो सन् २०२४ को ०.८९१ को तुलनामा वृद्धि हो। त्यस्तै, औसत आयु सूचकाङ्क पनि ०.८३७ बाट बढेर ०.८४३ पुगेको छ।
तर, शिक्षा सूचकाङ्क भने अघिल्लो वर्षको ०.७५१ बाट घटेर ०.७४० मा झरेको छ।
विभागका अनुसार सन् २०२० देखि २०२२ को तुलनामा सन् २०२३ देखि २०२५ सम्म मृत्यु हुनेको सङ्ख्या घटेकाले औसत आयु सूचकाङ्कमा सुधार आएको हो। कोभिड–१९ महामारीका कारण सन् २०२०–२०२२ मा सामान्य अवस्थाभन्दा बढी मृत्यु भएको थियो।
त्यस्तै, कुल राष्ट्रिय आय सूचकाङ्कमा भएको वृद्धिलाई मलेसियाको सकारात्मक आर्थिक प्रदर्शनसँग जोडिएको छ। सन् २०२५ मा मलेसियाको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५.२ प्रतिशतले वृद्धि भएको थियो।
यद्यपि, अपेक्षित विद्यालय शिक्षाको अवधि र जनसङ्ख्याको शैक्षिक उपलब्धिमा आएको परिवर्तनका कारण शिक्षा सूचकाङ्कमा गिरावट आएको विभागले जनाएको छ।

