दानबहादुर कार्कीको रिटमा आज सर्वोच्चमा प्रारम्भिक सुनुवाइ हुँदै



काठमाडौं,मंसिर २ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ।

यसअघि सोमबारका लागि पेसी तोकिए पनि छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन सकेको थिएन। सर्वोच्च अदालत प्रशासनले उक्त मुद्दाको सुनुवाइ बुधबारका लागि तोकेको हो।

कार्कीले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ को व्यवस्थाविपरीत आफूलाई आईजीपी पदबाट हटाइएको जिकिर गर्दै रिट दायर गरेका हुन्। उनले आफूलाई पूर्ववत् पदमा पुनर्बहाली गर्न माग गरेका छन्।

साथै, सरकारले नियुक्त गरेका नयाँ प्रहरी महानिरीक्षकलाई कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नसमेत उनले माग गरेका छन्।

सरकारले डा. मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेपछि कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। गृह मन्त्रालयका अनुसार मन्त्रिपरिषद्को निर्णय भएकै दिन कार्कीले सुरक्षा सल्लाहकारको नियुक्तिपत्रसमेत बुझिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्