राष्ट्रिय कर दिवसमा धादिङका तीन उत्कृष्ट करदाता सम्मानित



नुवाकोट,मंसिर २। नुवाकोट, रसुवा र धादिङ जिल्ला कार्यक्षेत्र रहेको आन्तरिक राजस्व कार्यालय गल्छीले १५औँ राष्ट्रिय कर दिवस विशेष कार्यक्रम गरी मनाएको छ। दिवसका अवसरमा गत आर्थिक वर्ष २०८१/०८२ मा आयकरतर्फ सबैभन्दा बढी कर तिर्ने तीन करदातालाई मंगलबार सम्मान गरिएको हो।

सम्मानित हुनेमा बेनीघाट रोराङ गाउँपालिका–७ का सदाज्योति सप्लायर्सका सञ्चालक उज्जलकुमार थपलिया, नीलकण्ठ नगरपालिका–३ बीचबजारस्थित स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष कविता थापा र धुनीबेँसी नगरपालिका–५ का एचएस मल्टी एग्रो प्रालिका सञ्चालक शिवहरि आचार्य रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा र आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख कर अधिकृत प्रेमप्रकाश शाही लगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै उनीहरूलाई सम्मान गरेका थिए।

‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नाराका साथ मनाइएको दिवसमा करदाता शिक्षा सम्बन्धी अन्तरक्रिया पनि गरिएको थियो। कार्यक्रममा वक्ताहरूले करको महत्व, करदाताको दायित्व र समयमै कर भुक्तानी गर्नुपर्ने विषयमा धारणा राखेका थिए।

कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष खतिवडा, नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ, धादिङ उद्योग वाणिज्य संघका सदस्य ईश्वरीप्रसाद धिताल, प्रमुख कर अधिकृत शाही र कर अधिकृत तुल्सीराम फुल्देल लगायतले कर प्रणालीलाई प्रभावकारी बनाउन करदाता र राज्य दुवै जिम्मेवार हुनुपर्ने बताएका थिए।

दिवसको अवसरमा कार्यालयले गल्छी र बैरेनी बजार क्षेत्रमा प्रभातफेरीसमेत आयोजना गरेको थियो। कार्यालयका अनुसार नुवाकोट, रसुवा र धादिङमा गरी एक लाख छ हजार करदाता रहेका छन्।

१५औँ राष्ट्रिय कर दिवसलाई सप्ताहव्यापी रूपमा मनाउने क्रममा कार्यालयले आफ्नो कार्यक्षेत्रका विभिन्न स्थानमा करदाता शिक्षा, सचेतना र जागरणमूलक कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्