सहकारी ठगीमा ढोरपाटनका नगर प्रमुख नेपालीलाई आठ वर्ष कैद



काठमाडौँ,मंसिर २ । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि कारागारमा रहेका बागलुङको ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवबहादुर नेपालीलाई आठ वर्ष कैद र एक करोड २६ लाख रुपैयाँ जरिवाना हुने फैसला भएको छ ।

जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रप्रकाश तिवारीको इजलासले इमेज बचत तथा ऋण सहकारीको रकम हिनामिनामा संलग्न ठहर गर्दै नेपालीलाई उक्त सजाय सुनाएको हो ।

अदालतले सहकारीका अर्का सञ्चालक चित्रबहादुर भण्डारी र शक्ति किसानलाई जनही सात वर्ष तथा निशा कार्की, भूमि भण्डारी, विष्णु पौडेल र विमला गुरुङलाई जनही छ वर्ष कैद सजाय सुनाएको छ । सबै प्रतिवादीलाई जनही एक करोड २६ लाख रुपैयाँ जरिवाना पनि तोकिएको छ ।

एक सय १० बचतकर्ताको जाहेरीका आधारमा फैसला भएको जिल्ला अदालतले जनाएको छ । सहकारी ठगीमा फरार रहेका नेपालीलाई रेड कर्नर नोटिसका आधारमा २०८१ असोज ११ गते पक्राउ गरिएको थियो ।

नेपालीविरुद्ध बागलुङको इमेज सहकारीबाट करिब दुई अर्ब रुपैयाँ अपचलन गरेको आरोप छ । उनीविरुद्ध सूर्यदर्शन सहकारी ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दासमेत विचाराधीन छन् ।

प्रतिक्रिया दिनुहोस्