धादिङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते



धादिङ, मङ्सिर ५। धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।

गएराति करिब १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको बा.प्र.०२०३३ च ७१६९ नम्बरको बोलेरो उकालो बाटोमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको हो।

घाइतेमध्ये रुबीभ्याली–४ का आमोष तामाङ, मिजोङ तामाङ र बोलेरो चालक डम्बर तामाङको अवस्था गम्भीर रहेको छ। अन्य छ जनाको अवस्था मध्यम रहेको छ।

घाइतेहरूलाई उपचारका लागि बोराङ स्वास्थ्य चौकी पठाइएको छ। दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया दिनुहोस्