प्रधानमन्त्री शाहको भारत भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत, बाढी प्रभावितलाई चीनको २ मिलियन डलर अनुदान
काठमाडौँ, मङ्सिर ४ । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको राजकीय भ्रमण स्वीकृत गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको बैठकले आगामी मङ्सिर ६ र ७ गते हुने प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गर्नुका साथै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको हो ।
बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने दुई मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय मुद्रा कोषबाट द्रुत ऋण सुविधा (आरसीएफ) अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको ब्याजरहित सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।
मन्त्रिपरिषद्ले नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक तथा सामुदायिक जग्गाको नापजाँच गरी लगत तयार गर्न आदेश जारी गर्ने निर्णय गरेको छ ।
बैठकले राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०), ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी मापदण्ड, २०८३ र राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३ पनि स्वीकृत गरेको छ ।

