भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा



काठमाडौं, मंसिर ७ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहयोग घोषणा गरेका हुन् । यद्यपि, घोषित रकममध्ये कति सहुलियतपूर्ण ऋण र कति अनुदान रहने भन्नेबारे स्पष्ट पारिएको छैन ।

नेपालले भारतसँग २ खर्ब भारु सहयोग माग गरेको थियो । त्यसमध्ये १ खर्ब भारु सहुलियतपूर्ण ऋण र १ खर्ब भारु अनुदान उपलब्ध गराउन अनुरोध गरेको थियो । अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माण र थप ५० अर्ब भारु बुटवल–पोखरा द्रुतमार्ग निर्माणमा खर्च गर्ने नेपालको प्रस्ताव थियो ।

तर, भारतले घोषणा गरेको सहयोग कुन परियोजनामा कति खर्च गर्ने भन्ने विषय खुलाएको छैन ।

भारतले यसअघि पनि नेपालका लागि चारवटा सहुलियतपूर्ण ऋण सुविधा घोषणा गरिसकेको छ । तर, तीमध्ये ठूलो रकम उपयोग हुन सकेको छैन । नेपालले दुई वर्षअघि अर्थात् सन् २०२४ मा ९० करोड अमेरिकी डलर बराबरको ऋण सुविधा रद्द गरेको थियो ।

यसअघि सन् २०१४ मा नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका थिए । सन् २०१५ को भूकम्पपछि उक्त सहयोगलाई पुनर्निर्माणमा केन्द्रित गरिएको थियो । जसमध्ये २५ करोड अमेरिकी डलर अनुदान र ७५ करोड अमेरिकी डलर ऋणका रूपमा छुट्याइएको थियो ।

अनुदानतर्फको २५ करोड डलर भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ऋणतर्फको ७५ करोड डलरमध्ये करिब ५ करोड डलर मात्रै उपयोग हुन सकेको थियो ।

भारतको ऋण सुविधाबाट सञ्चालन हुने आयोजनामा ७५ प्रतिशत भारतीय वस्तु तथा सामग्री नै प्रयोग गर्नुपर्ने प्रावधानका कारण घोषित ऋणको ठूलो हिस्सा उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार यसअघि प्रतिबद्धता गरिएको ९० करोड अमेरिकी डलर खर्च हुन नसकेपछि नेपालले सन् २०२४ मा उक्त सुविधा रद्द गरेको थियो । त्यसमा थप करिब १० करोड अमेरिकी डलर जोडेर १ खर्ब भारुको ऋण सुविधा उपलब्ध गराउन नेपालले प्रस्ताव गरेको थियो । भारत यसमा सहमत भए पनि अनुदान रकम भने नेपालको मागभन्दा कम हुने गरी सहमति भएको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्