ओखलढुंगामा बोलेरो दुर्घटना, नौ जना घाइते
ओखलढुंगा,मंसिर ७ । ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ खनियाखर्कमा बोलेरो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र आठ जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
निशंखेबाट सिद्धिचरण नगरपालिका–८ लगलगेस्थित चम्पादेवी मन्दिर दर्शन तथा मेलामा सहभागी हुन जाँदै गरेको प्रदेश १–०७–००१ ज ०००५ नम्बरको बोलेरो आज बिहान ७ः१५ बजे दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार बोलेरो निशंखे–ओखलढुंगा भित्री कच्ची सडकखण्डबाट करिब ३५ मिटर तल खसेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि सामुदायिक अस्पताल ओखलढुंगा पठाएको छ ।
दुर्घटनामा सिद्धिचरण नगरपालिका–२ का ३४ वर्षीय सरोज आचार्य, २४ वर्षीया मिरा सार्की, उनका एक वर्षीय छोरा रोयन मंग्राती, २९ वर्षीय सबिन आचार्य, सात वर्षीय आयुश मंग्राती, सात वर्षीय प्रशान्त रम्तेल, २९ वर्षीया रमिला नेपाली, उनका छ वर्षीय छोरा प्रबिन मंग्राती र ३२ वर्षीया मिना मंग्राती घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते मिरा सार्कीको अवस्था गम्भीर छ भने अन्य आठ जनाको अवस्था मध्यम रहेको छ ।

