नेपाल–भारत सम्बन्धलाई रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्छ : प्रधानमन्त्री बालेन



काठमाडौं, मंसिर ७। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल र भारतबीचको ऐतिहासिक सम्बन्धलाई युवा पुस्ताका लागि अवसर सिर्जना गर्ने रूपान्तरणकारी विकास साझेदारीमा बदल्नुपर्ने बताएका छन्।

भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले आपसी सम्मान, अटल विश्वास र अटुट सद्भाव नेपाल–भारत सम्बन्धका आधारशिला रहेको बताए।

उनले नेपाल र भारतबीचको सम्बन्ध हिमालयजस्तै अटल र महासागरजस्तै विशाल रहेको उल्लेख गर्दै यसको केन्द्रमा दुवै देशका जनता रहेको बताए।

भगवान् पशुपतिनाथ, माता जानकी तथा करुणामय मत्स्येन्द्रनाथको आशीर्वाद र नेपाली जनताको स्नेह बोकेर भारत आएको उल्लेख गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति न्यानो आतिथ्य र भ्रमणको निमन्त्रणाका लागि आभार व्यक्त गरे।

प्रधानमन्त्री शाहले प्राकृतिक विपद् र कठिन परिस्थितिमा भारतले नेपाललाई निरन्तर सहयोग गर्दै आएको भन्दै भारत सरकार र भारतीय जनताप्रति धन्यवाद व्यक्त गरे।

उनका अनुसार हालै सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा स्पष्ट र अग्रगामी छलफल भएको छ। वार्ताका क्रममा प्रमुख पूर्वाधार परियोजनाको उद्घाटन तथा शिलान्याससँगै सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण समझदारी भएका छन्।

दुई देशबीच भएका समझदारी र अघि बढाइएका परियोजनाको प्रतिफल किसानको खेतबारीमा समृद्धि, युवाको हातमा रोजगारी र अवसर, विद्यार्थीका लागि नयाँ सम्भावना तथा उद्यमीका लागि लगानी र व्यवसाय विस्तारका रूपमा देखिनुपर्नेमा उनले जोड दिए।

प्रधानमन्त्री शाहले हिमालय क्षेत्रका जलस्रोतले करोडौँ मानिसको जीवन धानेको उल्लेख गर्दै जलवायु परिवर्तनका चुनौती सामना गर्न नेपाल र भारतले सामूहिक प्रयास गर्नुपर्ने बताए।

भगवान् राम र माता जानकीको समयदेखि नै नेपाल र भारत ऐतिहासिक, सांस्कृतिक तथा सभ्यतागत सम्बन्धमा बाँधिएको उल्लेख गर्दै उनले रेल सम्पर्कको उद्घाटनले दुई देशबीचको सम्बन्धलाई थप जीवन्त बनाउने विश्वास व्यक्त गरे।

उनले भारतीय लगानीकर्तालाई नेपालको आर्थिक समृद्धिमा साझेदार बन्न आह्वान गर्दै नेपालमा स्थापना हुने भारतीय प्रविधि संस्थान (आईआईटी) मा भारतीय विद्यार्थीसमेत अध्ययन गर्न आउने वातावरण बनाउनुपर्ने बताए। साथै दुवै देशका नागरिकको सुविधाका लागि सहरहरूबीच सीधा हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिए।

साझा र समृद्ध भविष्यका लागि दुवै देशले संयुक्त दृष्टिकोण दस्ताबेज सार्वजनिक गर्ने र संयुक्त प्रेस विज्ञप्तिमार्फत उपलब्धिहरू उजागर गर्ने पनि उनले जानकारी दिए।

सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। उनले भारतीय जनतालाई मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरस्थित माता जानकीको मन्दिर, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी भ्रमण गर्नसमेत आमन्त्रण गरे।

नेपाल र भारतबीचको मित्रता हिमालयजस्तै अग्लो विश्वास र नदीजस्तै निरन्तर बगिरहने सहकार्यमा आधारित हुनुपर्ने उल्लेख गर्दै उनले दुवै राष्ट्रको समृद्धिको कामना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्