सरयू–कमला एक्सप्रेसले धार्मिक पर्यटन र रोजगारीको अवसर बढाउने, युवालाई गाइड तालिम लिन मन्त्री यादवको आग्रह



जनकपुर,मंसिर ९ । अयोध्याबाट जनकपुरधामसम्म सञ्चालनमा आएको सरयू–कमला एक्सप्रेसले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय युवाका लागि रोजगारीका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यही अवसरको सदुपयोग गर्न युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले जनकपुरधामका युवालाई पर्यटक पथप्रदर्शक (टुरिस्ट गाइड) तालिम लिएर दक्ष बन्न आग्रह गर्नुभएको छ।

मन्त्री यादवले सामाजिक सञ्जालमार्फत जानकी मन्दिर, राम मन्दिर, मिथिला संस्कृति र धनुषाधामलगायत धार्मिक तथा ऐतिहासिक स्थलको पहिचान विश्वभर पुर्‍याउन दक्ष स्थानीय पथप्रदर्शक आवश्यक रहेको बताउनुभएको हो।

अयोध्या र जनकपुरधाम रेल सेवामार्फत जोडिएपछि तीर्थयात्री तथा पर्यटकको आवागमन बढ्ने र उनीहरूलाई स्थानीय इतिहास, धर्म तथा संस्कृतिबारे जानकारी दिन सक्ने दक्ष जनशक्तिको मागसमेत बढ्ने उहाँको भनाइ छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले सञ्चालन गर्न लागेको पथप्रदर्शक तालिममा सहभागी हुन आग्रह गर्दै मन्त्री यादवले ‘सीप सिकौँ, पर्यटकलाई स्वागत गरौँ र आफ्नै भूमिमा रोजगारी सिर्जना गरौँ’ भन्ने सन्देश दिनुभएको छ।

उहाँले युवालाई वैदेशिक रोजगारीमा जानुभन्दा स्वदेशमै उपलब्ध अवसरको सदुपयोग गर्नसमेत प्रेरित गर्नुभएको छ। तालिमप्राप्त स्थानीय पथप्रदर्शकले धार्मिक पर्यटनलाई व्यवस्थित बनाउन र पर्यटकलाई गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्