भोटेकोशी बाढी प्रभावितलाई २९ करोड ६१ लाखभन्दा बढी नगद सहायता वितरण



काठमाडौं,मंसिर ९ । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारको बसोबास तथा जीविकोपार्जनमा सहयोग पुर्‍याउने उद्देश्यले १० साझेदार संस्थामार्फत २९ करोड ६१ लाख ७५ हजार रुपैयाँ बहुउद्देश्यीय नगद सहायता वितरण गरिएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ भदौ २५ गतेको निर्णयअनुसार नुवाकोट, रसुवा, धादिङ र गोरखाका १२ स्थानीय तहका बाढी प्रभावित परिवारलाई उक्त सहायता वितरण गरिएको हो।

सहायता प्राप्त गर्ने स्थानीय तहमा नुवाकोटको विदुर नगरपालिका, किस्पाङ र तारकेश्वर गाउँपालिका, रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका, आमाछोदिङमो र नौकुण्ड गाउँपालिका तथा धादिङका गल्छी, गजुरी र बेनीघाट रोराङ गाउँपालिका रहेका छन्। त्यस्तै गोरखाको गण्डकी गाउँपालिकाका प्रभावित परिवारले पनि सहायता पाएका छन्।

विश्व खाद्य कार्यक्रम, नेपाल रेडक्रस, प्लान इन्टरनेशनल, युनिसेफ, पिपल इन निड, वर्ल्ड भिजन, हेल्भेटास, एससिआई, डिसिए र सिआरएस गरी १० साझेदार संस्थामार्फत उक्त रकम वितरण गरिएको हो।

सहायता पाउन योग्य भए पनि हालसम्म बसोबास तथा जीविकोपार्जन अनुदान नपाएका प्रभावित परिवारले आवश्यक कागजातसहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने जनाइएको छ।

अनुदान वितरणसम्बन्धी कार्यविधि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको वेबसाइटमा उपलब्ध रहेको छ। कार्यविधि यहाँ हेर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्