नुवाकोट विदुर नगरका विद्यालय आइतबार पनि सञ्चालन हुने



नुवाकोट,मंसिर ११ । नुवाकोटको विदुर नगरपालिकाले चालु शैक्षिक सत्रको अन्त्यसम्म आइतबार पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ।

गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण विद्यालयको नियमित पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको सिकाइ उपलब्धिमा क्षति पुगेको भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो।

विद्यालयको पठनपाठनमा भएको क्षति पूर्ति गरी पाठ्यक्रम पूरा गराउने उद्देश्यले आइतबारको सार्वजनिक बिदाका दिनसमेत नियमित कक्षा सञ्चालन गर्न नगरपालिकाले सबै विद्यालयलाई अनुरोध गरेको छ।

प्रधानाध्यापकहरूको बैठकबाट समेत आइतबार विद्यालय सञ्चालन गर्न अनुरोध भई आएको र सोहीअनुसार मङ्सिर १० गतेको नगर प्रमुखस्तरीय निर्णयबाट चालु शैक्षिक सत्रको अन्त्यसम्म आइतबार पनि नियमित कक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको शिक्षा अधिकृत नवराज सापकोटाले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस्