पत्रकार महासंघ नुवाकोटद्वारा महासंघ–विद्यार्थी अभियान सञ्चालन गर्ने



विदुर\ पत्रकार महासंघ नुवाकोटले ‘महासंघ–विद्यार्थी अभियान सञ्चालन गर्ने भएको छ । जिल्लामा रहेको सञ्चार गृहमा भइरहेको जनशक्ति अभावलाई कमी गर्नका निमित्त महासंघले अभियान सञ्चालन गर्न लागेको बताइएको छ । पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरूलाई पत्रकारिता पेशामा आकर्षित गराउन तथा सञ्चार गृह तथा प्रशिक्षार्थी पत्रकारहरू बीचमा समन्वय गराउन यो अभियान सञ्चालन गर्न लागेको पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिनुभयो ।
जिल्लामा आम सञ्चार तथा पत्रकारिता अध्ययन गरिरहेका विद्यार्थीहरूसंग अन्तरक्रिया गर्ने र उनीहरूलाई पेशामा आकर्षित गर्ने अभियान सञ्चालन हुन लागेको हो । अन्य विषयमा अध्ययनरत विद्यार्थीलाई समेत पत्रकारिता पेशाका सम्भावनालाई अभियान मार्फत् बुझाईने भएको छ । महासंघका पदाधिकारहरू विद्यालय विद्यालयमा पुगेर अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । जिल्लामा हाल आठ वटा एफएम रेडियो, एउटा दैनिक, आठ वटा साप्ताहिक, एउटा टेलिभिजन, एउटा मासिक र दुई वटा त्रैमासिक पत्रिकाहरू प्रकाशन तथा प्रशारणमा रहेका छन् । त्यस्तै, आधा दर्जन भन्दा बढी अनलाईन खबर पत्रिकाहरू नुवाकोट जिल्लाबाट सञ्चालित छन् ।

यसै बीच, नेपाल पत्रकार महासंघले २०७६ सालका लागि प्रदान गर्न लागेको पत्रकारिता पुरस्कार तथा सम्मान यही पुसमा हस्तान्तरण गर्ने भएको छ । महासंघका केन्द्रिय अध्यक्ष गोबिन्द आचार्यको प्रमुख आतिथ्यतामा पुस १८ गते शुक्रवार कार्यक्रमको आयोजना गरिनेछ । गतवर्षदेखि प्रदान गर्न थालिएको पुरस्कार र सम्मान यसवर्ष माधवप्रसाद खनाल, किरणप्रसाद अधिकारी, नवदीप श्रेष्ठ, रामहरि गजुरेल र बसुधा केसीले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्