टोखामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सुरु हुँदै, वडामै निःशुल्क परीक्षण र उपचार सेवा
काठमाडौँ, वैशाख १७ । टोखा नगरपालिका ले नगरवासीको स्वास्थ्य परीक्षण र उपचारलाई सहज बनाउन आगामी वैशाख २० गतेदेखि वडास्तरमै निःशुल्क ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।
नगरपालिकाले नसर्ने रोगको समयमै पहिचान, रोकथाम तथा विशेषज्ञ सेवासहित कार्यक्रम सञ्चालन गर्न आन्तरिक स्रोतबाट ५५ लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख प्रकाश अधिकारी ले यसअघि अस्पताल र स्वास्थ्य केन्द्रमा सीमित सेवा अब वडा–वडामा विस्तार गरेर अझ प्रभावकारी बनाइने जानकारी दिए।
उनका अनुसार कार्यक्रम वैशाख २० गते वडा नं. ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट शुभारम्भ हुनेछ। त्यसपछि प्रत्येक वडामा तीन–तीन दिनको तालिका अनुसार स्वास्थ्य सेवा प्रदान गरिनेछ।कार्यक्रम अन्तर्गत पहिलो दिन ३० वर्षभन्दा माथिका नागरिकका लागि नसर्ने रोगको परीक्षण (स्क्रिनिङ) गरिनेछ। यसमा बीएमआई, रक्तचाप, सुगर, पिसाबमा एल्बुमिन, क्षयरोगको खकार परीक्षण तथा महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर परीक्षण (भीआईए) समावेश छन्। परीक्षणमा समस्या देखिएका बिरामीलाई दोस्रो दिनको शिविरमा थप उपचारका लागि पठाइनेछ।
दोस्रो दिन ७० वर्षमाथिका ज्येष्ठ नागरिक तथा ६० देखि ७० वर्ष उमेर समूहका लक्षित वर्गलाई विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गरिनेछ। सोही दिन प्रयोगशाला परीक्षणका लागि नमुना सङ्कलन, भिडियो एक्स–रे (USG) र ईसीजी (ECG) सेवा पनि उपलब्ध हुनेछ। थाइराइड र प्रोस्टेट (PSA) परीक्षण भने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला मा गरिने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ।
तेस्रो दिन विशेषज्ञ चिकित्सकले परीक्षण रिपोर्टका आधारमा निःशुल्क औषधि वितरण, स्वास्थ्य परामर्श तथा आवश्यकताअनुसार अन्य अस्पतालमा रिफर गर्ने व्यवस्था रहनेछ।
नगरप्रमुख अधिकारीले रोग लागेपछि उपचार गर्नु भन्दा समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए। उनका अनुसार हालसम्म स्वास्थ्य परीक्षण नगरेका नागरिकलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्न लागिएको हो। साथै, नगरवासीलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउनु स्थानीय सरकारको प्रमुख प्राथमिकता रहेको उनले उल्लेख गरे।

