केन्द्र सरकारको निर्णय कार्यान्वयन गर्न सिन्धुपाल्चोक शिक्षा समन्वय इकाईको अनुरोध
सिन्धुपाल्चोक, वैशाख १७ । जिल्ला शिक्षा समन्वय इकाई सिन्धुपाल्चोकले केन्द्र सरकारको निर्णय कार्यान्वयन गर्न स्थानीय तह तथा विद्यालयहरूलाई अनुरोध गरेको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको च.नं. ६७ मिति २०८२ चैत २६ गतेको पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्ले २०८२ चैत २२ गते गरेको निर्णय बमोजिम २०८३ सालको शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने तथा २०८२ चैत २३ गतेदेखि सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ।
उक्त निर्णयअनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न निर्देशन दिइए पनि विभिन्न स्थानमा कार्यान्वयन नभएको भन्दै गुनासो प्राप्त भइरहेकाले सो निर्णय पालना गर्न/गराउन इकाईले आग्रह गरेको हो।
यसअघि धादिङ जिल्ला शिक्षा समन्वय इकाईले पनि यस्तै अनुरोध गरिसकेको छ।
यता नुवाकोटका लिखु, शिवपुरी, तादी र तार्केश्वर गाउँपालिकाले भने केन्द्र सरकारको निर्णय विपरीत अध्यक्षकै नेतृत्वमा आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्।


