भ्रमण वर्ष सफल पार्न एक जुट भएर लागौं-मन्त्री भट्टराई

मुलुकको समृद्धिको मूल आधार पर्यटन क्षेत्र भएको र यो क्षेत्रको विकास र प्रवर्द्धनका लागि पुर्वाधारको विकास पहिलो र महत्वपूर्ण शर्त भएको उल्लखे गर्दै मन्त्री भट्टराईले भन्नुभयो–‘ पछिल्लो समय पुर्वाधारको क्षेत्रमा पनि प्रगति भएको छ तर त्यो पर्याप्त छैन ।’ त्यसैले सरकार र राजनीतिक नेतृत्वको ध्यान ठूला र राष्ट्रिय गौरवका आयोजनामा केन्द्रीत भएपनि यसमा अनेक खालका स्वार्थ समूहले वाधा खडा गर्ने गरेको बताउनुभयो । नीजगढ विमानस्थलको निर्माण कार्य रोक्न हालै सर्वोच्च अदालतले जारी गरेको अन्तिरिम आदेशतर्फ संकेत गर्दै उहाँले भन्नुभयो – ‘काठमाडौको हवाइ यात्रुको चाप व्यवस्थापन गर्न अहिले नीजगढको कुनै विकल्प छैन, म आशावादी छु त्यो गम्भीरतालाई सबै पक्षले वुझ्नेछन् ।’ उहाँले ठूला र राष्ट्रिय गौरबका आयोजना राजनीतिक नेतृत्वको सोचबाट निर्धारण हुने भएकाले यसको निरुपण न्यायलयबाट नहुने बताउनुभयो ।
टर्कीको इस्तानावुलमा अन्तराष्ट्रिय विमानस्थल बनाउँदा त्यहाँ २४ लाख रुख काटिएको प्रसंग उल्लेख गर्दै मन्त्री भट्राइले भन्नुभयो–‘हाम्रोमा त्यति रुख पनि काटिदैन । फेरी त्यो विमानस्थल बनाइसकेपछि अन्यत्र ठाऊँमा वृषारोपण गरेर उनीहरुले त्यो भन्दा धेरै रुख हुर्काइसके । अहिले इस्तानावुल विमानस्थल अन्तराष्ट्रिय हवाइ उडानको हब बनेको छ, हामी चाहिँ एउटा हाँगो काट्ने कि नकाट्नेमा बहस गरेर बसिरराख्ने ? चीनले थ्री गर्जेज हाइड्रो बनाउने बेला त्यहाँ पनि यस्तै खालका वहस भएन तर चीनले बनाएर छाड्यो, अहिलेको चीनको सम्पन्नताको एउटा आधार त्यहि हाइड्रो भएको छ, मन्त्री भट्राइले भन्नुभयो–‘हाम्रो सरकारको पुरा प्रतिवद्धता नीजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउनेमा छ, त्यो बन्छ ।’
नेपालमा पर्यटन प्रर्वद्धनका लागि २०२० को क्याम्पियनले मात्र नपुग्ने भएकाले सरकार यो वर्षलाई प्रस्थान विन्दु बनाएर कम्तिमा एक दशकको अभियानमा लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो–‘तपाइहरुको अन्तराष्ट्रिय सम्पर्क र सम्बन्धलाई यो अभियानमा अधिकतम् प्रयोग गर्नुस् ।’ उहाँको जोड भ्रमणको सिजन हुन्छ भन्ने प्रचारवाट पनि नेपाललाई मुक्त गर्नुपर्नेमा थियो । उहाँले भन्नुभयो–‘अवश्य पनि भ्रमणको निश्चित सिजन हुन्छ । खाडी मुलुकको सिजन जाडोको समय होला, युरोपका देशहरुको पनि खास सिजन होला तर नेपाल सबै सिजनमा खुला भएको मुलुक हो भन्ने भन्ने पनि बुझाउनु जरुरी छ ।’
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीमा अध्यक्ष जीवनराम श्रेष्ठले भ्रमण वर्ष २०२० सरकार र मन्त्रालय विशेषको मात्र काम नभइ आम नेपालीको अभियान भएकाले यो सफल पार्नु पनि सबै नेपालीको दायित्व भएको बताउनु भयो । उहाँले भन्नुभयो–‘त्यहि दायित्व सम्झेर हामी आफ्ना सबै फोरमहरुमा भ्रमण वर्षको सन्देश प्रवाह गर्न प्रतिवद्ध छौं, प्रवाह गरिपनि रहेका छौं ।’