खडेरीले मकैबाली सुक्न थाल्यो, किसान चिन्तित
दाङ, असार १३ — लगातार वर्षा नहुँदा दाङका विभिन्न स्थानमा लगाइएको मकैबाली खडेरीका कारण सुक्न थालेको छ। विशेषगरी सिँचाइ सुविधा नपुगेका तथा आकाशे पानीको भरमा खेती गर्ने किसान सबैभन्दा बढी प्रभावित भएका छन्।
राजपुर गाउँपालिका–७ अन्तर्गत सिक्टा, लैवरुवा लगायतका बस्तीमा केही साताअघि रोपिएको मकै पर्याप्त पानी नपाउँदा बोट ओइलाउन थालेको छ। पानीको अभावका कारण मकैको वृद्धि रोकिएको छ भने धेरै ठाउँमा बाली पूर्ण रूपमा सुक्ने अवस्थामा पुगेको किसानहरूले बताएका छन्।
यस वर्ष समयमै वर्षा हुने अपेक्षामा मकै खेती गरेका किसान लामो समयसम्म पानी नपरेपछि उत्पादन गुम्ने चिन्तामा छन्। अधिकांश किसानसँग वैकल्पिक सिँचाइको व्यवस्था नभएकाले आकाशे पानीकै भर पर्नुपर्ने अवस्था रहेको छ।
स्थानीय किसानका अनुसार अब केही दिनभित्र पर्याप्त वर्षा नभए मकैबाली जोगाउन कठिन हुने अवस्था छ। खडेरीको अवस्था लम्बिए यस वर्षको खाद्यान्न उत्पादनमा समेत नकारात्मक असर पर्ने उनीहरूको भनाइ छ।

