रास्वपा पतन भएपछि राप्रपाको पालो आउँछ : अध्यक्ष लिङदेन
काठमाडौं,असार १३। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पतन भएपछि राप्रपा मुलुकको बलियो वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढ्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई जनताको भरोसायोग्य विकल्प बनाउन पार्टीको संगठन, कार्यशैली र सोचमा आमूल परिवर्तन आवश्यक रहेको बताए।
उनले जनताले ठूलो मत नदिए पनि राजनीतिक विकल्पको आवश्यकता महसुस गर्दै राप्रपालाई राष्ट्रिय पार्टीका रूपमा जोगाइराखेको उल्लेख गरे। अब पार्टीले आफूलाई सुधारेर ‘राप्रपा फेरिएको र सुध्रिएको’ सन्देश जनतामाझ पुर्याउनुपर्ने उनको भनाइ थियो।
लिङदेनले पार्टीभित्र गुट–उपगुटको राजनीति अन्त्य गरी एकता, आपसी विश्वास र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। कुनै नेताको पछि लागेर होइन, जनताको साथ लिएर पार्टीलाई बलियो बनाउन नेता–कार्यकर्तालाई उनले आह्वान गरे।
उनले भने, “राष्ट्रिय स्वतन्त्र पार्टी पतन भएपछि अब राष्ट्रिय प्रजातन्त्र पार्टीकै पालो आउँछ। त्यसका लागि हामीले मेहनत गर्नुपर्छ। जनतालाई राप्रपा फेरियो र सुध्रियो भन्ने सन्देश दिनुपर्छ।” अध्यक्ष लिङदेनले पार्टी कार्यकर्तालाई आगामी महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिँदै मंसिर २६, २७ र २८ गते तय गरिएको महाधिवेशन तोकिएकै समयमा हुने बताए। उनले निर्वाचन तालिकाअनुसार तल्लो तहका अधिवेशन पनि समयमै सम्पन्न गर्न आग्रह गरे।

