काठमाडौंमा १८८ बालबालिकाको सहभागितामा सामूहिक ‘कुमारी पूजा’ सम्पन्न



काठमाडौं, असार १३ — काठमाडौं महानगरपालिका वडा नं. १७ को आयोजनामा धोविचौरमा सामूहिक ‘कुमारी पूजा’ सम्पन्न भएको छ।

वडा कार्यालयको आयोजना तथा स्थानीय के.के. महिला समूहको समन्वयमा आयोजित कार्यक्रममा १८८ जना बालबालिकाको सहभागिता रहेको थियो। नेवार समुदायको मौलिक परम्परा र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बालबालिकालाई कुमार र कुमारीका रूपमा विधिपूर्वक पूजन गरिएको थियो।

बालबालिकामा निहित पवित्रता, शक्ति र दैवी स्वरूपप्रति सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक विश्वासअनुसार आयोजना गरिएको पूजामा सहभागीलाई परम्परागत विधिअनुसार टीका, प्रसाद तथा सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागी अभिभावकहरूले यस्ता सांस्कृतिक कार्यक्रमले बालबालिकालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै महानगरको पहलको प्रशंसा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्