धुलिखेल–खावा सडकखण्डमा १५ दिन राति सवारी आवागमन बन्द हुने
काभ्रेपलाञ्चोक, असार १३ — स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डमा कालोपत्रको कामलाई तीव्रता दिन १५ दिन रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ।
जिल्ला सुरक्षा समितिले असार २२ गतेदेखि साउन ४ गतेसम्म रातिको समयमा उक्त सडकखण्डमा सवारी आवागमन बन्द गर्ने निर्णय गरेको हो। समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सो अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई पूर्ण रूपमा प्रवेश निषेध गरिनेछ। अन्य यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई भने बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म उक्त सडकखण्डमा प्रवेश गर्न रोक लगाइनेछ।
उहाँका अनुसार आर्थिक वर्षको अन्त्यमा निर्माण सामग्री ढुवानी प्रभावित नहोस् भन्ने उद्देश्यले सडक निर्माण कार्यको तालिका व्यवस्थापन गरिएको हो। निर्माण कार्यलाई सहज बनाउन यात्रु तथा मालवाहक सवारीसाधनलाई सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न पनि समितिले आग्रह गरेको छ।
समितिले तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्सलगायत अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिने निर्णय गरेको जनाएको छ। साथै सवारी व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने जानकारी दिइएको छ।
यसअघि गत चैत महिनामा पनि करिब एक महिनासम्म रातिको समयमा पूर्ण रूपमा सवारी आवागमन बन्द गरी तथा दिउँसो एकतर्फी सञ्चालन गरेर दुई दशमलव पाँच किलोमिटर सडकमा डिबिएम–पीचसहित कालोपत्रको काम सम्पन्न गरिएको थियो।

