प्राणघातक रोग फैलाउने कोरोना भाइरस नेपालमै भेटियो



काठमाडौं । प्राणघातक रोग फैलाउने कोरोना भाइरस नेपालमै भेटिएको छ।सर्वप्रथम सन् २००३ मा चीनलगायत ३० देशमा महामारीको रूप लिएको सार्स र सन् २०१२ मा मध्यपूर्वमा देखिएको मर्सजस्ता प्राणघातक रोग फैलाउने कोरोना प्रजातिको भाइरस नेपालमा पनि देखिएको छ।अन्य मुलुकमा जीव जन्तुमा देखिएको यसप्रकारको रोग नेपालमा भने मानिसमा नै भेटिएको छ। यससम्बन्धी सेन्टर फर डायनामिक नेपाल (सिएमडिएन) ले सात वर्ष लगाएर गरेको अध्ययन गरेको थियोे।सो अध्ययन रिपोर्ट सरकारी अधिकारी र अन्तर्राष्ट्रिय संघसंस्थाको उपस्थितिमा बिहीबार सार्वजनिक गरिएको छ । आजको नयाँ पत्रकिा दैनिकमा समाचार छ ।

अनुसन्धानकर्ताले जटिल प्रकारको निमोनिया फैलाउने कोरोना भाइरस मानिस, चमेरो, हाँस र मुसामा देखिएको बताएका छन् । सरुवारोग अस्पताल टेकुका विशेषज्ञ डा. अनुप बास्तोलाले कोरोना भाइरसका विभिन्न प्रजाति हुने बताए । सार्स र मर्स श्वासप्रश्वाससम्बन्धी रोग हुन् । उँटबाट सर्ने मर्स मानिसबाट मानिसमै पनि सर्छ । सार्स जनावरबाट मानिसमा सर्छ । तर, नेपालमा देखिएको कोरोना भाइरस सार्स र मर्स नै गराउने हो, होइन भन्नेबारे थप अध्ययन आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अधिकारीले बताएका छन् ।

सेन्टर फर डायनामिक नेपालका कार्यकारी निर्देशक दिवेश कर्माचार्यले सात वर्षमा जनावर र मानिसमा ३० हजार नमुना परीक्षण गर्दा कोरोना भाइरसको प्रजाति भेटिएको बताए । मानिसबाट मानिसमा सर्ने कोरोना भाइरस विश्वव्यापी रूपमा फैलिन सक्ने भन्दै डुब्लुएचओले सचेत गराउँदै आएको छ । चिकित्सकका अनुसार कोरोना भाइरसले श्वासप्रश्वास प्रणालीमा संक्रमण गरेर जनावर तथा मानिसको स्वास्थ्यमा असर पुर्‍याउछ । भाइरस संक्रमणपछि ज्वरो, खोकी तथा श्वासप्रश्वासमा समस्या देखिन्छ । यसले निमोनिया तथा मिर्गौलासमेत फेल गराउन सक्छ । भाइरस संक्रमित व्यक्तिले हाछ्युँ गर्दा वा खोक्दा थुक र खकारमार्फत यो भाइरस अर्को व्यक्तिमा फैलिन्छ ।

प्रतिक्रिया दिनुहोस्