४७ प्रतिशत मात्रै सकियो फास्ट ट्र्याक, खोकना विवादले अझै रोकियो काम
काठमाडौँ, जेठ ११। नेपालको सबैभन्दा महत्वाकांक्षी राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को भौतिक प्रगति हालसम्म ४७ दशमलव ५६ प्रतिशत पुगेको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार आयोजनाको वित्तीय प्रगति भने ४८ दशमलव ४५ प्रतिशत रहेको छ ।
राजधानी काठमाडौँलाई तराई–मधेशसँग छोटो दूरीमा जोड्ने उद्देश्यले निर्माण भइरहेको ७० दशमलव ९७७ किलोमिटर लामो द्रुतमार्गको परिमार्जित लागत दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ कायम गरिएको छ । प्रारम्भिक अनुमानभन्दा दुई अर्ब दुई करोड रुपैयाँ लागत घटाइएको सेनाले जनाएको छ । हालसम्म आयोजनामा ८६ अर्ब ८६ करोड रुपैयाँ खर्च भइसकेको छ ।
एशियन हाइवे डिजाइन मापदण्ड ‘प्राइमरी क्लास ए’ अनुसार निर्माण भइरहेको यस आयोजनामा सात स्थानमा सुरुङमार्ग निर्माण भइरहेको छ । सुरुङहरूको कुल लम्बाइ १० दशमलव ९७९ किलोमिटर रहेको छ भने दुईतर्फी लम्बाइ २१ दशमलव ९५८ किलोमिटर रहेको छ । आपतकालीन अवस्थाका लागि प्रत्येक तीन सय मिटरमा ‘क्रस प्यासेज’ समेत निर्माण गरिएको छ ।
देवीचौर, सिसौटार, चन्द्रमभिर, महादेवडाँडा र मौरीभिरमा सुरुङ निर्माण जारी रहेको छ भने धेद्रे र लेनडाँडामा ‘ब्रेक–थ्रु’ सम्पन्न भइसकेको छ । हालसम्म ६ दशमलव ४ किलोमिटर सुरुङ खन्ने कार्य सकिएको छ । सबैभन्दा लामो ३ दशमलव ४ किलोमिटरको महादेवडाँडा सुरुङ यसै आर्थिक वर्षभित्र ‘ब्रेक–थ्रु’ गर्ने लक्ष्य राखिएको सेनाले जनाएको छ । चार किलोमिटर सुरुङको ‘लाइनिङ’ कार्यसमेत सम्पन्न भइसकेको छ ।
आयोजनाअन्तर्गत ८९ स्थानमा पुल निर्माण गरिने योजना रहेकामा ८५ स्थानमा निर्माण कार्य जारी छ । पुलहरूको दुईतर्फी कुल लम्बाइ २५ दशमलव ७७ किलोमिटर रहेको छ । हालसम्म ३८ वटा पुलको सब–स्ट्रक्चर तथा १६ वटा पुलको सुपर–स्ट्रक्चर निर्माण सम्पन्न भएको छ ।
खोकना क्षेत्रमा पर्ने चारवटा पुल निर्माण भने जग्गा अधिग्रहण समस्याका कारण प्रभावित बनेको छ । सडकतर्फ ४७ दशमलव ११३ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ भने सात किलोमिटर सर्भिस लेन कालोपत्रे गरिएको छ ।
द्रुतमार्गअन्तर्गत खोकना, बुदुने र निजगढमा तीनवटा इन्टरचेन्ज, बुङमती, बुदुने र निजगढमा तीनवटा टोल प्लाजा तथा दुईवटा विश्रामस्थल निर्माण गरिने योजना रहेको छ ।
आयोजना प्रमुख उपरथी धर्मेन्द्रकुमार झाले ठूला पुल, वाल प्रोटेक्शन तथा जटिल संरचनाको अधिकांश काम सकिएकाले अब बाँकी काम तुलनात्मक रूपमा सहज हुने बताउनुभयो । उहाँका अनुसार भौगोलिक जटिलता, प्राकृतिक विपद्, जग्गा प्राप्ति समस्या तथा ‘राइट अफ वे’ विवादका कारण आयोजनाको प्रगति अपेक्षाअनुसार हुन सकेको छैन ।२०७४ वैशाखमा मन्त्रिपरिषद्को निर्णयबाट द्रुतमार्ग निर्माणको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । २०७६ सालमा विस्तृत परियोजना प्रतिवेदन स्वीकृत भएपछि २०७८ जेठदेखि निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको हो ।
हाल चैत मसान्तसम्म आयोजना सम्पन्न गर्ने लक्ष्य राखिए पनि खोकना क्षेत्रमा देखिएको विवादका कारण प्रारम्भिक बिन्दुको काम अझै सुरु हुन सकेको छैन । सेनाले खोकना विवाद समाधान भएपछि ठेक्का प्रक्रिया अघि बढाइने जनाएको छ ।
द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौँ–निजगढ यात्रा करिब एक घण्टा दुई मिनेट तथा हेटौँडा–काठमाडौँ यात्रा करिब ३० मिनेटमा सीमित हुने लक्ष्य राखिएको छ । यसले काठमाडौँलाई मधेश तथा भारतीय नाकासँग सिधा र तीव्र पहुँच दिने भएकाले व्यापार, यातायात र आर्थिक गतिविधिमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ ।

