विवादित एमसीसी बजेटमा परेपछि नेकपा विवाद पुनः चुलियो



काठमाडौं,जेठ १७ । आउदो वर्षको आर्थिक वर्ष २०७७/७८ को बजेटमा अमेरिकी सहयोग कार्यक्रम मिलेनियम कर्पोरेसन च्यालेन्ज (एमसीसी) को कार्यक्रमलाई राखेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी मा विवाद चुलिएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अनुसार आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै पार्टीमा निर्णय नभई एमसीसीलाई बजेटमा समावेश गराएकोमा आपत्ति जनाएका छन ।

बजेटमा तोकेर एमसीसी शब्दावली उल्लेख नभएपनी त्यसका कार्यक्रमलाई समावेश गरि बजेट नै छुट्याएपछि प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड शुक्रबार साँझ बालुवाटार पुगेका थिए ।
भेटवार्ता लगत्तै थप विमर्शका लागि शनिवार विहान ९ बजे सचिवालय बैठक समेत बोलाइएको छ ।

सरकारले बिहीबार संसदमा प्रस्तुत गरेको बजेटमा लप्सीफेदी–रातामाटे –हेटौंडा र लप्सीफेदी–रातमाटे –दमौली–बुटवल ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण बढाइने उल्लेख र अन्तरदेशीय प्रशारण निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको छ ।

बजेटमा एमसीसी भनिएको छैन । तर ठूलो रकम विनियोजन गरेकाले एमसीसीलाई नै अगाडि बढाउन खोजेको देखिन्छ । सरकारले नीति तथा कार्यक्रममा पनि ४०० केभी क्षमताको अन्तरदेशीय प्रशारण निर्माण अघि बढाउने भनेको थियो ।

यस सन्दर्भमा नेकपाको एमसीसी कार्यदलका संयोजक झलनाथ खनाल र सदस्य भीम रावलले आपत्ति जनाएका थिए । आफूहरुको कार्यदलले परिर्माजन नगरी सम्झौता संसदबाट अनुमोदन गर्न नसकिने निष्कर्ष निकालेको भन्दै दुबैले पार्टीमा छलफल नगरी एमसीसी सम्झौता अगाडि नबढाउन आग्रह गरेका थिए ।

नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले एमसीसी अनुमोदन गर्ने नगर्ने संसदको हातमा भएको र एमसीसी अनुमोदन नभए सरकार आफैंले अन्तरदेशीय प्रशारण लाईनमा लगानी गर्ने बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्