लाइसेन्स छपाइमा तीव्रता, विवरण अब वेबसाइटमै सार्वजनिक
काठमाडौं,बैशाख ३ । सुरक्षण मुद्रण केन्द्रले छापिएका सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी विवरण वेबसाइटमार्फत सार्वजनिक गर्न सुरु गरेको छ । सेवाग्राहीलाई छापिएका लाइसेन्सको जानकारी दिनुका साथै सहज रूपमा छिटो प्राप्त गर्न सहयोग पुर्याउने उद्देश्यले उक्त व्यवस्था लागू गरिएको हो ।
केन्द्रका कार्यकारी निर्देशक ढुङ्गाना ले उत्पादनको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यातायात व्यवस्था विभाग र सम्बन्धित कार्यालयसँग समन्वय गरी छापिएका कार्डहरू सम्बन्धित स्थानमा पठाउने व्यवस्था मिलाइएको छ ।
हाल केन्द्रले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ । दुई सिफ्टमा सञ्चालन भइरहेको छपाइ कार्यअनुसार असार मसान्तसम्म २९ लाख लाइसेन्स छापिसक्ने लक्ष्य राखिएको छ । विभिन्न जिल्लामा अझै ६८ हजारदेखि एक लाखसम्म लाइसेन्स छाप्न बाँकी रहेको जनाइएको छ ।
डा. विक्रम तिमिल्सिना ले लाइसेन्स वितरणमा भइरहेको ढिलासुस्ती हटाउन निर्देशन दिएपछि छपाइ प्रक्रिया तीव्र पारिएको हो । २०७२ सालदेखि लागू गरिएको स्मार्ट लाइसेन्स प्रणाली सुरु भएदेखि नै मागअनुसार छपाइ हुन नसक्दा लाइसेन्स वितरणमा समस्या हुँदै आएको थियो । सुरुवाती समयमा दैनिक माग करिब पाँच हजार रहे पनि छपाइ क्षमता करिब दुई हजार पाँच सय मात्र हुँदा बाँकी संख्या बढ्दै गएको थियो ।
हाल करिब २९ लाख लाइसेन्स छाप्न बाँकी रहेको र सेवाग्राहीले प्रिन्ट लाइसेन्स पाउन कम्तीमा तीन वर्षसम्म कुर्नुपर्ने बाध्यता रहेको छ ।

