भयावह बन्दै कोरोना,प्रत्येक घण्टामा १२ जना संक्रमित



काठमाडौं,जेठ ३२ ।  कोरोना संक्रमण भयावह बन्दै गएको छ । प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२ जनाको हाराहारीमा नयाँ संक्रमित थपिएको देखिन्छ । 

नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । शनिबार मात्र  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । गत आइतबार २ सय १३, सोमबार ३ सय १४, मंगलबार ३ सय २३, बुधबार २ सय ७९, बिहीबार २ सय ५० र शुक्रबार ४ सय ४८ जना नयाँ संक्रमित थपिएका थिए ।

कुल संक्रमितमध्ये ९ सय १३ जना डिस्चार्ज भएका छन् । जसअन्तर्गत पुरुष ८ सय २२ र महिला ९१ जना छन् । हालसम्म संक्रमितमध्ये १८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले बताए । यसैगरी, नेपालमा मृत्यु भएका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले शनिबार नियमित कोरोना ब्रिफिङका क्रममा वीरगन्जमा २८ जेठ र ३० मृत्यु भएका व्यक्तिमा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले उनीहरूको वीरगन्ज प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा शनिबार बिहान रिर्पोटमा कोरोना पोजिटिभ आएको जानकारी दिए । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । थपिएका २ सय ७३ सहित नेपालमा संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ । १ लाख २१ हजार ८ सय ६२ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभर ४ हजार १ सय ६९ जना आइसोलेसनमा उपचाररत छन् । यस्तै, १ लाख ५८ हजार ५० जना क्वारेन्टिनमा बस्दै आएका छन् । संक्रमितमध्ये अधिकांशमा लक्षण नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रशान्त वलीले समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्