चिकित्सकमाथि आक्रमणको विरोधमा आज आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द



काठमाडौं,साउन १२ । नेपाल चिकित्सक संघले चिकित्सकमाथि बढ्दो हिंसा र असुरक्षाको विरोध गर्दै आज (साउन १२ गते, मङ्गलबार) देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा गरेको छ।

संघका अध्यक्ष डा. बर्दी रिजाल र महासचिव डा. विश्वराज दवाडीद्वारा जारी विज्ञप्तिमा वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा गरिएको तोडफोडप्रति गम्भीर आपत्ति जनाउँदै आन्दोलनको घोषणा गरिएको उल्लेख छ।

संघले आन्दोलनमा सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, बुद्धिजीवी, सञ्चारकर्मी तथा आम नागरिकलाई साथ र समर्थन गर्न आग्रह गरेको छ। साथै, आन्दोलनका थप कार्यक्रम क्रमशः सार्वजनिक गरिने पनि जनाएको छ।

विज्ञप्तिअनुसार आक्रमणका क्रममा डा. प्रमोद रामसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मी घाइते भएका छन्। घटनामा संलग्न व्यक्तिमाथि प्रचलित कानुन तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न संघले सरकारसँग माग गरेको छ।

संघले घटनास्थलमा उपस्थित सुरक्षा निकाय तथा सम्बन्धित जिम्मेवार निकायले आफ्नो दायित्व प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप लगाउँदै निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न पनि आग्रह गरेको छ। साथै, स्वास्थ्य सेवामा कार्यरत जनशक्तिको सुरक्षा सुनिश्चित गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा संघले जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस्