एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना, चालकको मृत्यु; पाँच जना घाइते



ललितपुर,साउन १२— ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

सोमबार महाँकाल गाउँपालिका–३ गोटीखेलबाट चापागाउँतर्फ आउँदै गरेको बा.आ.अ. ४६३९ नम्बरको स्कार्पियो महाँकाल गाउँपालिका–२ कटनभञ्ज्याङस्थित सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनाग्रस्त स्कार्पियो एसओएस बालग्राम सानोठिमी, भक्तपुरको रहेको र त्यसमा कार्यालयका कर्मचारी सवार रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक काठमाडौंको कोटेश्वर निवासी ५४ वर्षीय शक्तिप्रसाद अधिकारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। स्कार्पियोमा चालकसहित छ जना सवार रहेका थिए। दुर्घटनामा घाइते भएका पाँच जनामध्ये चार जनाको ललितपुर महानगरपालिका–१७ स्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ भने एक जनाको महाँकाल गाउँपालिका–२ स्थित मानिखेल स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार सबै घाइतेको अवस्था मध्यम रहेको छ।

बी एन्ड बी अस्पतालमा उपचाररत घाइतेहरूमा काठमाडौंको कोटेश्वर निवासी ३९ वर्षीया सस्मिता खतीवडा, नवलपरासीको गैँडाकोट घर भई हाल काठमाडौं बस्दै आएका ३५ वर्षीय भरत पौडेल, बर्दिया घर भई हाल काठमाडौं बस्दै आएकी ३६ वर्षीया डिना सोनाहा तथा नुवाकोट घर भई हाल काठमाडौं बस्दै आएका २६ वर्षीय देवेन्द्रराज पाण्डे रहेका छन्। यस्तै, मानिखेल स्वास्थ्य चौकीमा काठमाडौंको कीर्तिपुर नगरपालिका–५ निवासी ३९ वर्षीय निशान महर्जनको उपचार भइरहेको छ।

दुर्घटनाग्रस्त स्कार्पियो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्