प्रतिबन्धित वस्तुको बिक्री नगर्न विभागको चेतावनी, अनुगमन थप कडा



काठमाडौं,साउन १२ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कानुनले प्रतिबन्ध लगाएका वस्तुको अनधिकृत बिक्रीवितरण नगर्न व्यवसायी तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

विभागले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ अनुसार कुनै वस्तुको निकासी वा पैठारीमा मनाही वा नियन्त्रण गर्न सकिने कानुनी व्यवस्था रहेको स्मरण गराउँदै प्रतिबन्धित वस्तुको कारोबार गरे कानुनी कारबाही हुने चेतावनी दिएको हो।

विभागका अनुसार पैठारीकर्ता, सञ्चयकर्ता र बिक्रेताले कानुनले तोकेका दायित्व, शर्त तथा बन्देजको पूर्ण पालना गर्दै व्यापार सञ्चालन गर्नुपर्नेछ। कानुनविपरीतका गतिविधि भेटिएमा निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३, उपभोक्ता संरक्षण ऐन, २०७५ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने स्पष्ट पारिएको छ।

बजारमा स्वच्छता र उपभोक्ता हित सुनिश्चित गर्न विभागले अनुगमन तथा निरीक्षणलाई पनि तीव्र बनाएको जनाएको छ।उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन र कारबाहीको प्रक्रिया निरन्तर जारी रहेको विभागले उल्लेख गरेको छ।

यसैक्रममा विभागले सोमबार काठमाडौंका विभिन्न नौ वटा व्यावसायिक फर्मको अनुगमन गरी सुधारात्मक निर्देशन दिएको जनाएको छ। उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको सहभागितामा नियमित बजार अनुगमनलाई निरन्तरता दिइने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्