कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरियो, एकै परिवारका चार जना घाइते



लमजुङ, साउन १२ — लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटबेशीमा कुलो भत्किँदा आएको पहिरोले धन्सार पुरिँदा एकै परिवारका चार जना घाइते भएका छन्।

मंगलबार बिहान करिब २ः३५ बजे चितिखोलाबाट भाटबेशीतर्फ ल्याइएको कुलो भत्किएर आएको पहिरोले स्थानीय विष्णुदत्त सुवेदीको ढुंगा–माटोले बनेको दुईतले कच्ची धन्सार पूर्ण रूपमा भत्काएको प्रहरीले जनाएको छ। घटनाका बेला धन्सारभित्र रहेका चार जना पहिरोमा पुरिएका थिए।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भोर्लेटारबाट प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा चारै जनाको उद्धार गरेको थियो। उनीहरूलाई प्रारम्भिक उपचारका लागि चिसंखु स्वास्थ्य चौकी, रामबजार लगिएको थियो।

प्रारम्भिक उपचारपछि घाइते चारै जनालाई बिहान ४ः१० बजे थप उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पठाइएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा मध्यनेपाल नगरपालिका–७ भाटबेशी बस्दै आएका ५० वर्षीया शुकमाया विक, ५९ वर्षीय टिकबहादुर विक, १५ वर्षीया बिनिता विक र १६ वर्षीया अस्मिता विक रहेका छन्। उनीहरूको स्थायी घर मर्स्याङ्दी गाउँपालिका–१, नायूँ रहेको बताइएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ भने क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस्