फेरियो सवारी नियम,आजदेखि दुई पाङ्ग्रेमा पनि जोर बिजोर प्रणाली



काठमाडौ,असार १ । गृह मन्त्रालयको निर्देशनपछि आजदेखि देशभर दुई पाङ्ग्रे सवारी साधनमा पनि जोरबिजोर लागू भएको छ । यस अघि गृह मन्त्रालयले सबै निजी सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिएको थियो ।

आइतबार मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि सोमबारदेखि जोर-बिजोर प्रणाली लागू हुनेगरी मातहतका निकायमा परिपत्र गरिएको बताए ।

आजदेखि ४ पाङ्ग्रे र २ पाङ्ग्रे सवारी साधन सबैमा जोर-बिजोर प्रणाली लागू हुने भएको छ । मोटरसाइकल र स्कुटरमा एकजना मात्र बस्ने नियम पनि परिवर्तन नहुने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आजदेखि सबै प्रकारका निजी सावारीमा जोर-बिजोर प्रणाली लागू हुने जानकारी दिए ।

जोर-बिजोर प्रणाली अनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी साधन सञ्चालन हुने छन्। यस्तै ट्राफिक प्रहरीले पनि आजदेखि जोर-बिजोर प्रणाली लागू गराउन गृहमन्त्रालयले निर्देशन गरेको जनाएको छ।

काठमाडौं उपत्यका प्रवेश र बाहिरनका लागि पनि आजदेखि सरकारले विशेष पासको व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्