सांसद हितबहादुर तामाङद्वारा गुर्जेभन्ज्याङ-छहरे सडक अनुगमन(भिडियो)




नुवाकोट,असार ३ । जिल्लावासीलाई बर्खायाममा मुलुकको केन्द्रीय राजधानी काठमाडौं ओहोरदोहोरमा समस्या नहोस् भन्‍ने उद्देश्यसहित नुवाकोटका सांसदले झोर-गुर्जेभन्ज्याङ-छहरे सडक खण्ड स्तरोन्नतिको कामको स्थलगत अनुगमन गरेका छन् ।

नुवाकोट क्षेत्र नं. १ बाट निर्वाचित संघीय सांसद हितबहादुर तामाङले मंगलबार काठमाडौंको टोखा, झोर, जगात, शिवपुरी वन क्षेत्रमा पर्ने सडक खण्ड हुँदै गुर्जेभञ्ज्याङ, काफलडाँडा शितलपाटीदेखि छहरेसम्मको सडक स्तरोन्नति प्रत्यक्ष अवलोकन गरेका हुन् । झोर-छहरे सडकमा अहिले एक दर्जन ठाउँमा काम भइरहेको छ । उकालो, सेपिलो र अति समस्या रहेको ठाउँलाई प्राथमिकता दिएर ठेक्का लगाइएकोले लकडाउनका बीच काम भइरहेको छ । यसपटक बर्खामा यात्रुले केही सास्ती व्यहोर्नु परे पनि छिट्टै स्तरोउन्नतिको लागि आफूले पहल गर्ने सांसद तामाङले बताए । उनले भने, ‘निर्माण कार्य सम्पन्न भइनसकेको र यस वर्ष वर्षात्‌ पनि चाँडै सुरु भएकाले केही असहजता भए पनि बजेटको स्वरुपअनुसार निर्माण कार्य चित्तबुझ्दो छ । तर बजेट पर्याप्त भएकाले सडक राम्रो बन्न अझै समय लाग्नेछ ।’ विगतमा झोरमा गाडी फस्ने गरे पनि अहिले भने निकै सुधार भइसकेको छ ।

झन्डै साढे दुई दशकदेखि गाडी सञ्चालन भइरहेको झोर-छहरे सडक केही वर्षदेखि झनै समस्याग्रस्त बनेको छ । उक्त जीर्ण अवस्थाको सडकलाई स्तरउन्नतिका लागि यस वर्ष भने थप तीव्रता दिइएको छ । निर्वाचित सांसदको सिफारिसमा परेको १० करोड, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको १ करोड, वाग्मती प्रदेश सरकारबाट प्राप्त २ करोड बजेटबाट धमाधम निर्माण कार्य चलिलरहेको छ । यस वर्ष पनि नुवाकोटवासीले सास्ती खेप्न नपरोस् भन्ने उद्देश्यले सडक निर्माणको अवस्था बुझ्न पूर्वमन्त्री रहेका सांसद तामाङ प्रत्यक्ष अवलोकनमा पुगेका हुन् । उनले सडक स्तरोन्नतिको काम सन्तोषजनक रुपमा भइरहे पनि अझै सास्ती हटीनसकेको सञ्चारकर्मीसँग प्रतिक्रिया दिएका छन् ।

सांसद तामाङको अनुगमनका क्रममा सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

कांग्रेस नेता एवं पूर्वमन्त्री अर्थमन्त्री डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, राप्रपा नेता प्रकाशचन्द्र लोहनीजस्ता नेता रहेको नुवाकोटको सडक पूर्वाधारसमेत गतिलो बन्न नसकेको भन्दै निकै आलोचना गर्ने गरिएको छ । उक्त गुर्जेभन्ज्याङ-छहरे सडकका लागि आगामी आर्थिक वर्ष २०७७/०७८ मा लागि ३ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यहाँबाट छहरे हुँदै ढिकुरे, बट्टार त्रिशूली, रसुवासम्म जान सकिन्छ । नुवाकोट प्रवेशका लागि अन्य दुई नाकाभन्दा यो छोटो दूरीको नाका हो । नुवाकोट प्रवेशका लागि हाललाई प्रमुख नाकाको रुपमा लिइने काठमाडौंको बालाजु-ककनी त्रिशूली सडकखण्ड पनि बेलैमा निर्माण नहुँदा ठाउँ ठाउँमा समस्या छ । जसका कारण नुवाकोट र रसुवाका नागरिकहरुले हैरानी व्यहोर्दै आएका छन् ।

अनुगमनको भिडियो यहाँ हेर्नुस् :-

प्रतिक्रिया दिनुहोस्