२५७०औँ बुद्ध जयन्ती आज देशभर श्रद्धापूर्वक मनाइँदै



काठमाडौं,बैशाख १८— शान्तिका अग्रदूतका रूपमा विश्वभर परिचित सिद्धार्थ गौतम बुद्ध को २५७०औँ जयन्ती आज देशभर तथा विश्वभरका बौद्ध धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन्। भगवान् विष्णुको नवौँ अवतारका रूपमा मानिने बुद्धको पूजा, आराधना तथा प्रवचनमार्फत आजको दिन विशेष रूपमा मनाउने परम्परा रहेको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्तीले बौद्ध धर्म का अनुयायीहरूलाई शान्ति, अहिंसा र मैत्रीको सन्देश स्मरण गराउने गर्दछ। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण एउटै तिथिमा परेकाले यस दिनको विशेष धार्मिक महत्व रहेको छ।“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” भन्ने कालजयी सन्देशका वाहक बुद्धप्रति श्रद्धा प्रकट गर्दै देशभरका चैत्य, गुम्बा र विहारहरूमा पूजाआजा, ध्यान तथा प्रवचन कार्यक्रम सञ्चालन भइरहेका छन्। लामा तथा बौद्ध धर्मगुरुहरूको उपस्थितिमा परम्परागत विधिअनुसार पूजा सम्पन्न गरिन्छ।

विशेषगरी लुम्बिनी, स्वयम्भूनाथ र बौद्धनाथ स्तूप लगायतका प्रमुख धार्मिक स्थलहरूमा श्रद्धालुहरूको भीड लागेको छ। ती स्थानहरूमा विशेष पूजा, दीप प्रज्वलन र धार्मिक कार्यक्रम आयोजना गरिएको छ।इतिहासअनुसार इसापूर्व ५६३ मा हालको रुपन्देही जिल्लास्थित लुम्बिनीमा राजा शुद्धोधन र माता मायादेवीका पुत्रका रूपमा बुद्धको जन्म भएको थियो। राजकुमारका रूपमा जन्मिए पनि मानव जीवनका दुःखबाट व्यथित भई उहाँले २९ वर्षको उमेरमा दरबार त्यागेर सत्यको खोजीमा तपस्याको मार्ग अपनाउनुभएको थियो।

बुद्ध जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने विभिन्न संघसंस्था तथा समुदायले शान्ति र सद्भावको कामना गर्दै विविध कार्यक्रम आयोजना गरेका छन्।

प्रतिक्रिया दिनुहोस्