कोरोनाबाट संसारभर १ करोड २६ लाखभन्दा बढी सङ्क्रमित, ५ लाख ६३ हजारको मृत्यु



काठमाडौं,असार २७ । कोरोनाबाट विश्वभर एक करोड २६ लाखभन्दा बढी सङ्क्रमितभएका र पाँच लाख ६३ हजारभन्दा बढीको शनिबारसम्म मृत्यु भएको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

उक्त विश्वविद्यालयको तथ्याङ्क अनुसार विश्वभर ७३ लाख कोरोना भाइरस सङ्क्रमित निको भई घर फर्किसकेका छन् भने ४७ लाख व्यक्ति अझै पनि सङ्क्रमित रहेका छन् ।

विश्वमै सवैभन्दा धेरै सङ्क्रमित रहेको अमेरिकामा विगत २४ घण्टामा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै धेरै ६३ हजार ६४३ पुगेको जोन हकिन्स विश्वविद्यालयद्वारा सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ ।

योसँगै अमेरिकामा शनिबारसम्म सङ्क्रमितको सङ्ख्या ३२ लाख ९१ हजार ७८६ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा अमेरिकामा कोभिड–१९ सङ्क्रमित ७७४ जनाको मृत्यु भएको छ । अहिलेसम्म एक लाख ३६ हजार ६७१ कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको अमेरिकी स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको ब्राजिलमा १८ लाख चार हजार ३३८ जना सङ्क्रमित भएका छन् भने ब्राजिलमा कोरोनाका कारण ७० हजार ५२४ जनाको मृत्यु भएको छ ।

सङ्क्रमणका दृष्टिकोणले अमेरिका र ब्राजिलपछि बढी सङ्क्रमित भारतमा भएका छन् । भारतमा आठ लाख २२ हजार ६७४ व्यक्ति सङ्क्रमित भएकोमा ६२ प्रतिशतभन्दा बढी निको भई घर फर्किएका भारतको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ । भारतमा शनिबारसम्ममा २२ हजार १५२ जनाको मृत्यु भएको छ । त्यसपछि बढी सङ्क्रमण पुष्टि भएका मुलुकहरू, रूसमा (सङ्क्रमित सात लाख २० हजार ५४७ र मृत्यु ११ हजार २०५), पेरू (सङ्क्रमित तीन लाख १९ हजार ६४६ र मृत्यु ११ हजार ५००), चिली (सङ्क्रमित तीन लाख ९ हजार २७४ र मृत्यु छ हजार ७८१) र स्पेनमा (सङ्क्रमित तीन लाख ९८८ र मृत्यु २८ हजार ४०८) रहेको छ । अन्य बढी प्रभावित मुलुकहरूमा इटली, फ्रान्स, बेलायत, इरान र पाकिस्तानलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्