माछापोखरीमा झगडा हुँदा नुवाकोटका सुवाश तामाङको मृत्यु, एक जना पक्राउ



काठमाडौं,असोज ३१ । काठमाडौंको माछापोखरी चोकमा आपसी विवादका क्रममा भएको झगडामा नुवाकोटका २० वर्षीय सुवाश तामाङको मृत्यु भएको छ।

प्रहरीका अनुसार असोज गए राति करिब १२ः१२ बजे काठमाडौं महानगरपालिका–१६ माछापोखरी चोकस्थित सडकमा हिँडिरहेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल काठमाडौंको बल्खु बस्ने २० वर्षीय अर्जुन ताम्राकार र नुवाकोटको पञ्चकन्या गाउँपालिका–४ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका–९ मनमैजु बस्ने सुवाश तामाङबीच विवाद भएपछि झगडा भएको थियो।

झगडाका क्रममा लडेर अचेत अवस्थामा फेला परेका तामाङलाई तत्काल उपचारका लागि बालाजुस्थित सिल्भरलाइन अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा दिउँसो १ः३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले कुटपिटमा संलग्न रहेको आरोपमा अर्जुन ताम्राकारलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्