नुवाकोटका ३५० गर्भवती तथा स्तनपायी आमालाई पोषण सामग्री, १५० बालबालिकालाई न्यानो कपडा



नुवाकोट, असोज ३१ । रसुवागढी हुँदै भोटेकोशीबाट त्रिशूली नदीमा मिसिएको बाढीबाट प्रभावित नुवाकोटका गर्भवती तथा स्तनपान गराइरहेका ३५० आमालाई पोषणयुक्त खाद्य सामग्री वितरण गरिएको छ। यसैगरी, बाढी प्रभावित १५० बालबालिकालाई न्यानो कपडा, खेलौना तथा चकलेट प्रदान गरिएको छ।

सामुदायिक विकास केन्द्र (सीडीसी) नेपाल र नेपाल सहायता फाउन्डेसनको सहकार्यमा बडादसैँको अवसर पारेर उक्त सहयोग वितरण गरिएको हो। कार्यक्रमअन्तर्गत गर्भवती तथा स्तनपान गराइरहेका आमालाई पोषण, सरसफाइ तथा स्वास्थ्य सामग्री उपलब्ध गराइएको सीडीसी नेपालकी अध्यक्ष राधा मताङ्गीले जानकारी दिइन्।

अध्यक्ष मताङ्गीसहित संस्थाका पदाधिकारी तथा सहयोगीहरूले इनारपाटी स्वास्थ्य चौकी, महारानीडिही, गेर्खु स्वास्थ्य चौकी, बट्टार घण्टाघर स्वास्थ्य केन्द्र, त्रिशूली अस्पताल र वाणाको चौतारोस्थित अस्थायी आवासमा बसोबास गरिरहेका आमाहरूलाई सामग्री हस्तान्तरण गरेका थिए।

बाढीपछि प्रभावित परिवारलाई दैनिक खाद्यान्नको व्यवस्थापन गर्न कठिनाइ भइरहेको अवस्थामा गर्भवती तथा स्तनपान गराइरहेका आमाको पोषण आवश्यकता पूरा गर्न सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष मताङ्गीले बताइन्। चाडपर्वका बेला उपलब्ध गराइएको सहयोगले आमा तथा शिशुको स्वास्थ्य र पोषणमा टेवा पुग्ने आयोजकको विश्वास छ।

कार्यक्रममा नेपाल सहायता फाउन्डेसनले आर्थिक तथा आवश्यक सहयोग उपलब्ध गराएको थियो भने सीडीसी नेपालले स्थानीय समन्वय र सामग्री वितरणको जिम्मेवारी निर्वाह गरेको थियो।

बाढीपहिरोजस्ता प्राकृतिक विपत्तिका बेला गर्भवती महिला, सुत्केरी आमा, किशोरकिशोरी, बालबालिका तथा ज्येष्ठ नागरिक बढी जोखिममा पर्ने भएकाले उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राखेर सहयोगलाई थप प्रभावकारी बनाइने अध्यक्ष मताङ्गीले प्रतिबद्धता जनाइन्।

प्रतिक्रिया दिनुहोस्