बाढीले बाटो थुनिएपछि शेर्पागाउँमा हेलिकप्टरबाट राहत, स्थानीयले बनाए हेलिप्याड
रसुवा,असोज ३१। बाढीका कारण सडक तथा पुलहरू अवरुद्ध भएपछि रसुवाको गोसाइँकुण्ड गाउँपालिका–३ स्थित शेर्पागाउँमा हेलिकप्टरमार्फत राहत सामग्री पुर्याइएको छ। गाउँका १३ घरधुरीका लागि स्थानीय युवा आङ लाक्पाले आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरी खाद्यान्न तथा औषधि उपलब्ध गराएका हुन्।
विगत तीन वर्षदेखि जर्मनीमा बस्दै आएका लाक्पा बाढीको खबर पाएपछि केही समयका लागि नेपाल फर्किएका थिए। बाढीले सडक तथा पुलहरू क्षतिग्रस्त बनाउँदा गाउँसम्म पुग्न कठिन भएपछि उनले हवाई मार्गबाट राहत पुर्याउने निर्णय गरेका हुन्।
उनले बाढी प्रभावित परिवारका लागि चिनी, खानेतेल, बेसार, मेथी, नुन, जिरा, चियापत्ती, आँटा, मैदा तथा अत्यावश्यक औषधि गाउँमै पुर्याएर वितरण गरेका छन्।
लाङटाङ क्षेत्रभन्दा तल्लो भेगमा रहेको शेर्पागाउँमा बाढीपछि नेपाल रेडक्रस सोसाइटी र सरकारबाट सीमित मात्रामा राहत प्राप्त भएको स्थानीयले बताएका छन्। प्राप्त राहत सामग्री सकिँदै गएको र दसैँ–तिहारको समयमा खाद्यान्न अभाव हुन थालेको अवस्थामा लाक्पाले उपलब्ध गराएको सहयोगले ठूलो राहत पुगेको उनीहरूको भनाइ छ।
यातायातको पहुँचबाट टाढा रहेको गाउँमा राहत सामग्री पुर्याउन तथा आकस्मिक उद्धार र उडानलाई सहज बनाउन स्थानीय बासिन्दाले मिलेर हेलिकप्टर अवतरण गर्न मिल्ने अस्थायी हेलिप्याडसमेत निर्माण गरेका छन्।
संकटको समयमा जन्मभूमिका बासिन्दालाई सहयोग गर्न व्यक्तिगत खर्चमा खाद्यान्न र औषधि उपलब्ध गराएको भन्दै स्थानीयले लाक्पाप्रति आभार व्यक्त गरेका छन्।

